१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

महाकालीमा बेपत्ता धामीलाई ड्रोनको सहायताले खोजि गरिदैँ



दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन्। नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन्।

यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए। सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर खोजी जारी राखेका छन्। सो घटनाका बारेमा सरकारद्वारा गठित छानबिन समितिले एक पटक ड्रोन क्यामरामार्फत् खोजी गर्ने जनाएको छ।

साउन १९ गते खलङ्गा पुगेको छानबिन समिति अहिले पनि दार्चुलामै छ।

समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोनमार्फत् धामीको खोजी गरिने बताए।

सशस्त्र प्रहरीले बाइनाकुलरलगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिए।

ड्रोन क्यामरा लिएर टोली दार्चुला आइपुगेको छ। छानबिन समिति संयोजक गौतमले भने, ‘नदीमा बेपत्ता धामीको खोजी जारी राखेका छौं।’

समितिले अहिले बयान लिने र सोधपुछ गर्ने कार्य जारी राखेको छ।

गत शुक्रबार पीडितको परिवारसँग र नेपालतर्फको घटनास्थल निरीक्षण गरी फर्किएको टोली निरन्तर प्रतिवेदन लेख्न र सोधपुछ कार्यमा व्यस्त छ।

‘हाम्रो अनुसन्धान जारी छ, अहिले सुरक्षा समितिका सदस्य, घटनास्थल नजिकैका सुरक्षाकर्मी लगायतसँग सोधपुछ चलेको छ,’ उनले भने।

साउन १७ गते गठित समितिलाई १० दिनभित्र सरकारले प्रतिवेदन बुझाउन भनेको छ। भनेकै समयमा प्रतिवेदन नहुन पनि सक्छ, उनले भने, ‘ड्रोन क्यामराले खोजी गरेपछि हामी यहाँबाट फर्किन्छौं।’

व्यास २ मालघाटदेखि सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने भारतीय पक्षसँग समन्वय भइरहेको समितिका सदस्य एवं निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन्।

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र निमित्त प्रजिअ भट्ट छन्।

एकसातादेखि दार्चुलामै बसेको समितिले नेपाल भारत दुवैतर्फबाट स्थलगत निरीक्षण गरेको छ।

यस्तै, जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयबासी, घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय