१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै



काठमाडौ । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाईएको हो । अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो । अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

तर अविश्वासको प्रस्तावमाथि छलफल हुने दिननै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यस्तै वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गर्नुभएको थिएन ।


प्रतिक्रिया दिनुहोस !