७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मेलम्ची बन्द भएपछि फर्किए ट्यांकर र जारका दिन, पानीको व्यापार पहिलाकै अवस्थामा



मेलम्चीबाट पानी बन्द भएपछि राजधानी काठमाडौं उपत्यकामा ट्यांकर, जार तथा बोटल कम्पनीहरूका दिन फर्किएका छन् ।

उनीहरूको व्यवसाय पहिलाको अवस्थामा पुगेको छ । पानी बोक्ने ट्यांकर, जार र बोटलको पानीको माग बढेपछि आपूर्ति गर्न भ्याइनभ्याइ भएको छ । दैनिकी फेरि पहिला कै अवस्थामा पुगेको पानी आपूर्तिकर्ता व्यवसायीको भनाइ छ  । मंसिरदेखि सुक्खाका कारण उपत्यकामा पानीको आपूर्ति कम हुने भएपछि ट्यांकर, जार र बोटल कम्पनीको व्यवसाय झनै बढ्ने भएको छ ।

मेलम्चीबाट पानी आपूर्ति बन्द भएपछि उपत्यकामा ट्यांकरको पानीको माग ह्वातै बढेको काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलले बताए । वैशाखदेखि मेलम्चीको पानी आउँदा ट्यांकरको पानीको माग ७५ प्रतिशतसम्म घटेकोमा अहिले माग धान्न भ्याइनभ्याइ भएको उनले जानकारी दिए ।

अध्यक्ष कँडेलका अनुसार पानीको माग पहिलाकै अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै करिब ८५० ट्यांकरले पानी वितरण गर्दै आएका छन् । संघका अनुसार उपत्यका बाहिर पनि करिब १०० ट्यांकरले पानी वितरण गर्दै आएका छन् । यद्यपि बाहिरका ट्यांकरलाई मेलम्चीको पानीले असर नगरे पनि उपत्यकाभित्र सञ्चालित ट्यांकर भने संकटमा पर्न थालेका थिए ।

मेलम्चीको पानी निरन्तर आयो भने, ट्यांकरको पानी माग ८० प्रतिशतसम्म घट्ने उनको भनाइ छ । उपत्यकभित्र चल्ने ट्यांकरमा मात्रै करिब ९ हजार व्यक्ति आश्रित रहेको संघले जनाएको छ । वैशाखदेखि असारसम्म मेलम्चीको पानी आउँदा धेरै ट्यांकर व्यवसायी तथा चालक कामविहीन बनेका थिए ।

तर, निषेधाज्ञाको समय रहेकाले घर–घरमा नै बस्नु पर्दा उनीहरूको समस्या बारे धेरै जानकारी नभएको अध्यक्ष कँडेल बताउँछन् । उपत्यकामा मेलम्चीको पानी निरन्तर आएपछि भने वैकल्पिक पेसा–व्यवसाय गर्नुपर्ने उनको भनाइ छ । ‘मेलम्चीको पानी आएपछि कृषि व्यवसाय गर्नु पर्ला भनेर सोचेका छौं’ अध्यक्ष कँडेल भन्छन् ।

यसैगरी जार तथा बोटलको पानीको माग पनि २० प्रतिशतसम्म बढेको नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुवास भण्डारीले बताए । मेलम्चीको पानीको कारण जार तथा बोटलको पानीको मागमा उल्लेख्य प्रभाव नपरेको उनको भनाइ छ ।

अध्यक्ष भण्डारी भन्छन्, ‘पानीको मागमा ५० प्रतिशतसम्म फरक परेको अवस्थामा हामीले मेलम्चीको प्रभावले गर्दा भन्न मिल्छ । तर, २० प्रतिशतभन्दा घटबढ भएको छैन ।’

दैनिक १ लाख ५० हजारदेखि ८० हजारवटा जारको पानी उपत्यकामा वितरण हुने उनले बताए । त्यस्तै एक लिटरका बोटलको १५ देखि १८ हजार काटुन दैनिक रूपमा बिक्री हुने उनको भनाइ छ । देशभर ४० हजार कार्टुनसम्म पानी वितरण गर्दै आएको संघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !