७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सरकारले ल्याएको श्वेतपत्र तथ्यहीन आलोचना र पूर्वाग्रहको पुलिन्दा : विष्णु पौडेल



काठमाडौं : पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको श्वेतपत्रले अघिल्लो सरकारको तथ्यहीन आलोचना गरेको र पूर्वाग्रह राखेको टिप्पणी गरेका छन् । अर्थमन्त्री जनादर्न शर्माले मंगलबार प्रतिनिधिसभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारीु प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले भने, अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको छ । पूर्वाग्रही छ ।

मुलुकको वर्तमान आर्थिक अवस्थाबारे यथार्थ जानकारी दिनेभन्दा पनि त्यसबाट विषयान्तर भएर पूर्ववर्ती सरकारको आलोचनामा मात्रै सीमित भएको पौडेलको भनाइ थियो । अर्थमन्त्री शर्माले प्रस्तुत गरेको स्वेतपत्रमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, तथ्यांक विभाग, महालेखाका तथ्यांकले खण्डन गर्ने गरी तथ्य नभएको पौडेलले बताए । राजनीतिक दलहरूबिच नीति, विचार र दृष्टिकोणमा मतभिन्नता हुन सक्ने तर मुलुकको आर्थिक अवस्थ कस्तो छ भन्ने कुरा तथ्यमा रहने कुरा स्मरण पौडेलले गराए ।

तथ्यको तोडमोड गरेर अर्थमन्त्री शर्माले स्वेतपत्र जारी गरेको पौडेलको भनाइ थियो । मुलुकको अर्थतन्त्रसँग सम्बन्धित तथ्यांकको आफ्नो सुविधाअनुसार प्रयोग गरिएको पनि उनले बताए । अघिल्लो सरकारले कोभिडको बेलामा पनि अर्थतन्त्रलाई सही दिशामा लगेको भन्दै कोभिडकालमा नेपालमा मात्रै नभएर विश्वमै अर्थतन्त्र प्रभावित भएको उनको भनाइ थियो । अघिल्लो सरकारले आर्थिक क्षेत्रमा प्राप्त गरेका सफलतालाई वर्तमान सरकारले बेवास्ता गरेको पनि पौडेलले बताए । आफूले अध्यादेशमार्फत लोकप्रिय बजेट ल्याएको र त्यसलाई निजी क्षेत्रले पनि समर्थन र स्वागत गरेको भन्दै नयाँ बजेट ल्याउने भए त्योभन्दा राम्रो ल्याउन पौडेलले सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !