१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निधिले झपारेपछि देउवाले भने – साझा न्यूनतम कार्यक्रममा प्रचण्डले एमसीसी राख्न मानेनन्



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् ।

प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ । नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन रु’, निधिको प्रश्न थियो ।

जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिए । भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित थिए । उनले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास गरे । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।

स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए । प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए । मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !