१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

माधव जी अध्यक्ष बन्ने भए पार्टीमै आउनुस् : केशब बडाल



काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा भएको एका साक्षात्कारमा बोल्दै नेता बडालले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकतामा लाग्नुपर्नेमा जोड दिए । माधव नेपालले पार्टी छोड्न लागेको हल्ला बाहिरिएको भन्दै उहाँले ३८ वर्षसम्म दुःख गरेर काम गरेको पार्टी छाड्ने गलत काम नगर्न आग्रह गरे ।

माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेर ठूलो अपराध गरेको आरोप लगाउँदै उनले पार्टीको विधान र नीति विपरित गतिविधि गरे पनि पार्टी एकताका लागि आफूहरुले कारबाही नगरेको जिकिर गरे । एकताका नाममा पार्टीलाई अल्झाएर राखिरहन नहुने भएकाले कामकारबाही अघि बढाइएको तर्क गरे ।

माधव नेपाललाई अध्यक्ष चाहिएको भए अगामी वैशाख १० अघि हुने महाधिवेशनबाट आउन नेता बडालले सुझाव दिए । महाधिवेशनका लागि अलमल गर्न नहुने बताउँदै उनले माधव नेपाललाई अर्को अध्यक्ष दिन नसकिने स्पष्ट पारे । केपी ओलीले अध्यक्ष छोड्नुपर्ने र संसद् विघटन गरेकोमा माफी माग्नु पर्छ भन्ने नेपाल पक्षको शर्त नेता बडालले निरीह र बेइमानीको संज्ञा दिए ।

आफ्नै पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँछु भनेर लाग्ने माधवकुमार नेपाललाई जनताले कहिल्यै पनि इमान्दार नभन्ने बडालको तर्क छ । एमाले कमजोर बनाउनुको दोष नेपाललाई लगाउँदै उहाँले गल्ती नगर्न र फेरि पनि एकताका लागि गम्भीर बन्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय