८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

प्राधिकरण टुक्राउन सक्रिय भएपछि महानिर्देशकको कार्यकक्षमा कर्मचारीको तालाबन्दी



नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउन सक्रिय भएको भन्दै असन्तुष्ट कर्मचारीहरुले महानिर्देशक राजन पोखरेलको कार्यकक्षमा ताला लगाएका छन् ।

केही व्यक्तिहरु र समूहको निहित स्वार्थमा प्राधिकरणलाई दुईवटा बनाउन लागेको भन्दै त्यसलाई रोक्न भन्दै कर्मचारीहरुले महानिर्देशक पोखरेलको कार्यकक्षमा ताला लगाएका हुन् ।

प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रुपान्तरण गर्दा स्वार्थ समूहको चलखेल तथा मुनाफाखोरी बढ्न गई समग्र उड्डयन सुरक्षामा नै गम्भीर असर पर्ने नागरिकको जीउधनको सुरक्षामा जोखिम बढ्ने देखिएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएको हो ।

राष्ट्रको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाएर समग्र हवाई सेवालाई महँगो बनाउने र आम नागरिकलाई त्यसको भार पार्ने गरी योजनाबद्ध तवरले ल्याइएको कर्मचारी संघ/संगठनहरुको दाबी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संठन, मधेस तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्रिय कर्मचारी युनिय र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

कर्मचारीहरुले सशक्त, सक्षम र सवल बनाई प्रभावकारी एवं पारदर्शी रुपमा हवाई सेवाको नियमन गर्न सक्ने अवस्थामा विद्यमान रहेको प्राधिकरण भित्रै जनशक्तिहरुको दक्षता अभिवृद्धि गरी उड्डयन सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय चासोसमेत सम्बोधन गर्न सकिने बताउँदै आएका छन् ।

पर्यटन मन्त्रालय कै जिम्मेवारीमा रहेको दुर्घटना जाँच कार्यलाई तथस्ट एवं पारदर्शी बनाउन स्वतन्त्र दुर्घटना जाँच आयोग गठन गर्नुपर्नेमा प्राधिकरणलाई नै टुक्राएर निहित स्वार्थ समूहको उद्देश्य पूर्तिलाई मात्र प्रोत्साहन गर्ने मनसाय देखिएको कर्मचारीहरुको दाबी छ ।

प्राधिकरण टुक्राउने विद्ययक प्रतिनिधिसभामा पेश भएसँगै कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका थिए । कर्मचारीहरुले यसअघि २५ गतेदेखि २७ गतेसम्म प्रत्येक दिन १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टीसहित महानिर्देशकको कार्यकक्ष घेराउ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !