यी हुन् मौद्रिक नीतिमा भएका मूख्य व्यवस्थाहरु « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

यी हुन् मौद्रिक नीतिमा भएका मूख्य व्यवस्थाहरु



नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिले वाणिज्य बैंकलाई मर्जरमा जाँदा विभिन्न १० प्रकारका छुटको व्यवस्थासहित सेयर धितो कर्जामा कडाइ गरेको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जा लिँदा बढीमा १२ करोड र एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्मको सीमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

साथै कोरोना महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई विभिन्न प्रकारका राहतको व्यवस्था गरेको छ भने सार्वजनिक सवारी साधनका यातायात व्यवसायीलाई प्रतिगोटा सवारी अनुसार २ लाखसम्म थप कर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

त्यसैगरी वाणिज्य बैंकको सीसीडी रेसियोको व्यवस्था हटाउँदै सीडी रेसियो लागू गरिएको छ भने एउटै बैंकबाट एउटै आयोजनामा बढीमा २ अर्ब रुपैयाँसम्म लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

मौद्रिक नीतिमा भएका मुख्य बुँदाहरु

  • ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशतलाई यथावत् राखिएको छ । करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट वृद्धि गरी २ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपोदरलाई ३ प्रतिशतबाट वृद्धि गरी ३.५ प्रतिशत कायम गरिनेछ । खुला बजार कारोबारलाई थप सक्रिय बनाई ब्याजदर करिडोरको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।
  • बैक तथा वित्तीय संस्थाहरुले कर्जा प्रदान गरेका ऋणी फर्म, कम्पनी वा संस्था लगातार २ बर्षसम्म खुद नोक्सानीमा रहेमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी लगातार ३ वर्षसम्म खुद नोक्सानीमा रहेमा मात्र सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिनेछ ।
  • बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेका ऋणीहरुमध्ये कोभिड-१९ को कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरुलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरिनेछ ।
  • बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम रु. ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम रु. १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मिलाइने छ । ऋणीले उक्त सीमाभन्दा बढी कर्जा उपभोग गरिरहेको अवस्थामा यस्तो कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिने छ ।
  • निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरुको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ ।
  • वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने छ ।
  • बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा कर्जा-निक्षेप (क्रेडिट डिपोजिट रेसियो) अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गरिनेछ । पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिनेछ ।
  • बैंक तथा वित्तीय संस्थाले रु. १ अर्बभन्दा बढीको कर्जा लगानी गर्दा अनिवार्य रुपमा सहवित्तीयकरणमा जानुपर्ने व्यवस्था रहेकोमा त्यस्तो सीमा वृद्धि गरी रु. २ अर्ब पु¥याइने छ ।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने छ ।
  • पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने छ ।
  • ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
  • महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।
  • वास्तविक कृषि व्यवसायीलाई २० लाख रुपैयाँसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।
  • कोभिड–१९ बाट अति प्रभावित पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तथा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ ।
  • उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्दै आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिँदैे अर्थतन्त्र बिस्तारमा सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गरिनेछ ।
  • कोभिड महामारीका कारण अतिप्रभावित क्षेत्रमध्येका होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवामा बाह्य पर्यटकमा निर्भर हुने व्यवसायी ऋणीको हकमा अन्तर्राष्ट्रिय पर्यटक आउने सहज अवस्था नदेखिएको हुँदा त्यस्ता ऋणीको वित्तीय अवस्था विश्लेषण गरी आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने ब्याज छुट्टै हिसाबमा राख्ने व्यवस्था गरिएको छ । साथै यस्तो ब्याजमा थप हर्जना र प्यानल ब्याज लाग्ने छैन ।
  • कोरोनाबाट अतिप्रभावित रेष्टुराँ, पार्टी प्यालेस, यातायात शिक्षण संस्था र मनोरञ्जन व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको भुक्तानी १ वर्ष थप गरी कम्तीमा ४ किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । । यो व्यवस्था कोभिड–१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने छ ।
  • अस्पताल नभएका स्थानीयतहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहज रुपमा कर्जा प्रवाह गरिनेछ ।
  • सार्वजनिक यातायात सञ्चालन तथा मर्मत सम्भारका लागि प्रति गोटा २ लाख रुपैयाँसम्म थप कर्जा प्रवाह गरिनेछ ।
  • आर्थिक वर्ष २०७८/७९ मा विस्तृत मुद्राप्रदायको बिस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा बिस्तार १९ प्रतिशत हुने प्रक्षेपण रहेको छ ।
  • मर्जरमा जाने वाणिज्य बैंकलाई स्प्रेडदरमा छुट दिइनेछ । हाल ४.४ प्रतिशत स्प्रेड रहेकोमा मर्जमा भएमा १ प्रतिशत विन्दुले स्प्रेडमा छुट पाइनेछ ।
  • एकीकृत कारोबार सञ्चालनका क्रममा १ किमिभित्रका शाखा कार्यालयमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने
  • वाणिज्य बैंकको ०.१० प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेका संस्थापक समूहको सेयरधनीहरुले यस्तो सेयर बिक्री गर्दा फिट एण्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था गरिएको छ ।
  • समस्याग्रस्त घोषणा गरिएका विकास बैंक र वित्त कम्पनीलाई इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले प्राप्ति गरेमा उपरोक्त बमोजिमका सुविधा तथा छुट दिने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

चुनावपछि सत्ता गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिन्छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् ।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे । उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो । सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए । अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: