८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पुस ११ देखि १३ गते पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव



काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र आगामी पुसको दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा आगामी पुस ११, १२ र १३ गते पार्टीको राष्ट्रिय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको हो । पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्तावको केन्द्रिय समितिले आवश्यक निर्णय लिनेछ । बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ । संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा अध्यक्ष दाहालको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

अध्यक्ष दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ । सबै समूहले दुवै प्रस्तावमाथि केन्द्रित रहेर छलफल सुरु गरेको र ती समूहहरुका निष्कर्ष आइतबार बिहान ११ बजे बस्ने केन्द्रीय कार्य समिति बैठकमा पेश हुनेछ । सबै समूहको निष्कर्षको आधारमा पार्टीले अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको दुवै प्रस्तावउपर आवश्यक निर्णय लिने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस !