६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

टेलिकमको आम्दानी र नाफा दुवै घट्यो, ग्राहक आम्दानीमा भने सुधार



काठमाडौं । सरकारी स्वामित्वकाे नेपाल टेलिकमकाे आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले शनिबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा कम्पनीले कुल ४१ अर्ब ६५ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ ।

जबकि त्यसअघिको आर्थिक बर्ष २०७६/७७ मा कम्पनीले वर्षभर ४२ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस हिसाबले कम्पनीको आम्दानी एक अर्ब ३३ करोड रुपैयाँभन्दा बढीले घटेको छ । कम्पनीको आम्दानीसँगै खुद नाफा पनि घटेको छ । प्रकाशित विवरण अनुसार आफ्ना शेयर लगानीकर्तालाई बाँड्न मिल्ने खुद नाफा सात अर्ब ४५ करोड ५३ लाख रुपैयाँ रहेको छ । जबकि त्यसअघि कम्पनीको खुद नाफा ९ अर्ब ७४ करोड ८९ लाख थियो ।

कम्पनीको खुद नाफा एकै वर्षमा करिब दुई अर्ब ३० करोड रुपैयाँले घटेको हो । आम्दानी र नाफा दुवै घट्दा पनि कम्पनीले आफ्नो सेवा विक्री गरेर मात्र प्राप्त गर्ने आम्दानी भने बढाएको छ । कम्पनीको मुख्य आम्दानीको स्रोत रहने ग्राहकलाई सेवा बिक्री बापतको आम्दानी गत आवमा ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो आवमा यो शीर्षकको आम्दानी ३४ अर्ब ६२ करोड रुपैयाँ थियो । एकै वर्षमा कम्पनीले एक अर्बभन्दा बढी सेवा विक्रीबापतको आम्दानी बढाएको हो ।

सेवा बिक्रीबाहेक कम्पनीले लिलाम बिक्री, भाडा लगायतका शीर्षकबाट पनि आम्दानी गर्दै आएको छ । टेलिकमका अनुसार काेभिड-१९ महामारीको प्रत्यक्ष असरका कारण आम्दानी घटेको हो ।

त्यसका साथै बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आवमा घटेकाे समेत टेलिकमले जनाएको छ ।

साथै कम्पनीले कोभिड-१९ लाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि सस्तो मूल्यमा डेटा प्याक उपलब्ध गराउँदा पनि अघिल्लो वर्षको तुलनामा डेटाको खपत बढेको, तर राजश्व तुलनात्मक रुपमा नबढेकाे उल्लेख छ ।

अर्कोतर्फ कोभिडका कारण अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवामा कमी आएको टेलिकमले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय