१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

हाइटीमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु, १८०० बढी घाईते



काठमाडौं : हाइटीमा गएको भूकम्पमा परेर कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजारौँ भौतिक संरचना क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।

भूकम्पका कारण भवनहरु भग्नावशेषमा परिणत भएसँगै भयवित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको त्यहाँको सरकारले जनाएको छ । सइन्त लुइस दुसुद शहरबाट १२ किलोमिटरको दूरीमा केन्द्रविन्दु भएर सो भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ । भूकम्पमा परेर घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने भग्नावशेषमा पुरिएकाहरुको उद्दार जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अधिकांश भवनहरु क्षतिग्रस्त भएकाले घाइते तथा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।प्रधानमन्त्री एरियल हेनरीले आपतकालीन अवस्थाको घोषणा गरेर तत्काल मानविय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गर्नुभएको छ ।

गत महिना राष्ट्रपति जोबले मोइजको हत्या भएपछि राजनीतिक संकट चुलिँदै गएको थियो । सन् २०१८ मा पनि ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्पका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । यसैगरी सन् २०१० मा आएको ७ दशमलव १ म्याग्निच्यूडको भूकम्पका कारण करिब २ लाख मानिसको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !