१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कविता : बाढी र शून्यता



यो साउनको घनघटा
अन्ध मुष्ठी भएर
रातभर पानी पर्‍यो
बिजुली चम्क्यो
आकाश थर्कियो
नदीहरू बौलाएर दौडिरहेका छन्
वेगवान् अश्वमेध यज्ञका घोडाहरू भएर
पहाडहरू हाँस्दै खस्दै
खस्दै हाँस्दै गरिरहेछन्
जसरी नवविवाहितहरू
प्रेमिल मुस्कानका साथ
अन्त्यहीन क्रिडा र केली निमन्त्रण गर्दै
चलायमान हुन्छन्
जीवनका सोपानहरू निखन्नका लागि,

प्रिय शून्यता ! यस्तो बेलामा
तिम्रो धेरै यादआउने रहेछ !
गमेँ
नियालेँ
फेरि एकोहोरिएँ
कि सुख कि दुःखमा
आफ्नाहरू बढी नजिक हुने रहेछन्
बाँकी त सब औपचारिकतामा रमाएर
ठिक ठिक
वाह वाह
र शुभकामना मात्र भन्दा रहेछन्,

प्रिय शून्यता !
प्रकोपहरू अघि या
प्रकोपहरू पछि
मानिस फगत् एक्लो एक्लो हुने रहेछ
झन् त्यो बेलामा
प्रिय ! शून्यता आफन्तहरूको
बढी यादआउने रहेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय