१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

माधव नेपाललाई सजिलो हुने गरी दल फुटाउने अध्यादेश ल्याउन संसद अधिवेशन अन्त्य!



काठमाडौँ – सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।

आजै राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको बालुवाटार स्रोतले जानकारी दियो।

संसद अधिवेशनकाे आह्वान र अन्त्य सरकारकाे सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ।

यसैबीच सरकारले दल फुटाउन सजिलाे हुने गरी अध्यादेश ल्याउने तयारी गरेकाे छ। त्यसकै लागि सरकारले संसद अधिवेशन अन्त्यकाे सिफारिस गरेकाे विश्वस्त श्राेतले बतायाे।

एमालेकाे माधवकुमार नेपाल र पार्टीबिहीन बनेकाे महन्थ ठाकुर खेमाकाे ‘उद्दार’ का लागि दल फुटाउन सजिलाे हुने अध्यादेश ल्याउने तयारी सरकारले गरेकाे हाे। हाल दल फुटाउनका लागि स‌सदीय दल र पार्टीकाे केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्नै पर्ने प्रावधान छ।

४० प्रतिशत संख्या नपुगेपछि एमालेमा माधव समूह संकटमा छ भने महन्थ समूह त झनै पार्टीबिहीन अवस्थामा छ। देउवा सरकारलाई विश्वासका मत दिएका यी दुवै खेमाकाे ‘उद्दार’का लागि सरकारले दल फुटाउन सजिलाे हुने गरी अध्यादेश ल्याउन थालेकाे हाे।

माधव नेपाल दल फुटाउन तयार भए तुरुन्तै अध्यादेश ल्याउने समझदारी सत्ता गठबन्धनमा बनेकाे छ। एमाले फुटाएर भए पनि माधव समूहलाई सरकारमा सहभागी गराउने कसरतमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहाल छन्। त्यसकै लागि मन्त्रिपरिषद् बिस्तारमा ढिलाइ भइरहेकाे छ।


प्रतिक्रिया दिनुहोस !