७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अफगानिस्तानमा झण्डै १० खर्ब डलर खर्चेको अमेरिका युद्ध हारेर घर फर्कियो



काठमाडौं । सन् २००१ मा अमरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा तालिबानले पुनः कब्जा जमाएको छ ।अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ गरेर रित्तो हात फर्किएको छ । यो युद्धमा अमेरिकाले अर्बौं डलर खर्चिएको छ ।

अमेरिकासहित उसका सहयोगी मुलुकले पनि अफगानिस्तानको युद्धमा भाग लिँदै आफ्ना सेनाहरु पठाएका छन् । नेटोले २०१४ मा नै आफ्नो युद्ध मिसन अन्त्य गरेको थियो तर उसले १३ हजार सैनिक अफगानी सेना र आतंकवाद नियन्त्रणको लागि खटाउँदै आएको थियो । त्यसका साथै अफगानिस्तानमा धेरै निजी सुरक्षा कन्ट्र्याक्टरमार्फत भएका सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । निजी कम्पनीबाट आएका सुरक्षाकर्मीमा अधिकांश अमेरिकी नागरिक थिए ।

कति रकम खर्च भयो ?

अफगानिस्तानको युद्धमा भएको अधिकांश खर्च अमेरिकाले गरेको छ । सन् २०१० देखि २०१२ को बीचमा अमेरिकाले सबैभन्दा धेरै सैनिक अफगानिस्तानमा खटाउँदा युद्धको खर्च वार्षिक करिब एक खर्ब डलर पुगेको अमेरिकाको सरकारी तथ्यांक छ । अमेरिकाले त्यसपछि आक्रामक अपरेसन चलाउन थाल्यो र अफगानी सेनालाई तालिम दिने रणनीति ल्यायो । त्यसपछि भने खर्चमा कमी आयो । सन् २०१८ सम्म आइपुग्दा युद्धको खर्च वार्षिक ४५ अर्ब डलरमा झरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म अमेरिकाले सात खर्ब ७८ अर्ब डलर रकम खर्च गरेको छ ।

त्यसका साथै अमेरिकाको विदेशमन्त्रालयका साथै यूएसएड र अन्य सरकारी एजेन्सीले पुनर्निर्माणको परियोजनामा थप ४४ अर्ब डलर खर्च गरेका छन् । यसरी हेर्दा २००१ देखि २०१९ सम्ममा समग्रमा आठ खर्ब २२ अर्ब डलर रकम खर्च भएको देखिन्छ । यसमा पाकिस्तानमा गरिएको खर्च भने उल्लेख छैन । अमेरिकाले अफगानिस्तानसँग सम्बन्धित अपरेसनको लागि पाकिस्तानको बेस पनि प्रयोग गरेको थियो ।

२०१९ मा ब्राउन युनिभर्सिटीले सार्वजनिक गरेको एक अध्ययनले भने अफगानिस्तान र पाकिस्तानको युद्धमा अमेरिकाले करिब ९ खर्ब ७८ अर्ब डलर खर्च गरेको देखाएको छ ।

अमेरिकापछि अफगानिस्तानमा सबैभन्दा धेरै सेना खटाएका बेलायत र जर्मनीले पनि यो युद्धमा क्रमशः ३० अर्ब र १९ अर्ब डलर रकम खर्च गरेको आकलन छ । यस वर्षसम्ममा नेटोले ७ करोड २० लाख डलरका सामग्री र उपकरण अफगानिस्तान पठाइसकेको छ ।

कहाँ खर्च हुन्थ्यो यो रकम ?

अफगानिस्तान युद्धमा खर्च गरिएको ठूलो रकम आतंकवाद नियन्त्रण कार्यक्रम र सैनिकको खाना, कपडा, स्वास्थ्य स्याहार, विशेष भत्ता र अन्य सुविधामा खर्च हुँदै आएको छ ।

आधिकारिक तथ्यांकअनुसार २००२ यता अमेरिकाले पुनर्निमाणका परियोजनाहरुमा करिब एक खर्ब ४३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको छ । जसमध्ये आधाभन्दा धेरै अफगानी सुरक्षा बलको संरचना निर्माणको लागि खर्च गरेको थियो । करिब ३६ अर्ब डलर शासन र विकासको लागि खर्च गरिएको छ भने थोरै रकम लागू औषध नियन्त्रण र मानवीय सहायताको लागि खर्च गरिएको छ ।

यो रकममध्ये केही रकम त्यत्तिकै खेर गएको, ठगी तथा दुरुपयोग हुँदै आएको छ । २०२० अक्टोबरमा अमेरिकाको संसद्मा प्रस्तुत गरिएको प्रतिवेदनमा पुनर्निर्माणको लागि गरिएको खर्चमध्ये २००९ मे देखि २०१९ डिसेम्बरसम्ममा १९ अर्ब डलर रकम हराएको छ ।

मानवीय क्षति

२००१ मा तालिबानसँगको युद्ध सुरु भएपछि ३५०० विदेशी सेनाले मृत्यु भएको छ, जसमध्ये २३०० अमेरिकी सेना छन् । बेलायतका ४५० सेनाको मृत्यु भएको छ । यो युद्धको क्रममा २० हजारभन्दा धेरै अमेरिकी सेना घाइते भएका छन् । अफगानी सेनाको मृत्यु भने विदेशी सेनाको तुलनामा निकै बढी छ । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले २०१९ मा पाँच वर्षको अवधिमा ४५ हजारभन्दा धेरै अफगानी सेनाको मृत्यु भएको बताएका थिए ।

ब्राउन युनिभर्सिटीले २०१९ मा सार्वजनिक गरेको आकलन अनुसार सन् २००१ मा युद्ध सुरु भएपछि मृत्यु हुनेको अफगानी सुरक्षाकर्मीको संख्या ६४ हजारभन्दा धेरै छ । युनाइटेड नेसन्स एसिस्टेन्स मिसन इन अफगानिस्तानका अनुसार २००९ यता अफगानिस्तान युद्धमा करिब एक लाख ११ हजारभन्दा धेरै आम नागरिक मृत्यु वा घाइते भएका छन् । बीबीसीबाट । 


प्रतिक्रिया दिनुहोस !