१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कृशलाको हत्यामा दुई पुरुष संलग्न, अपराधी सार्वजनिक गर्दै प्रहरी



मृत भेटिएको १२ दिनपछि कृशला चौधरीको हत्यारा पत्ता लागेको प्रहरीले जनाएको छ। गत १९ गते मृत भेटिएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीका हत्यारा पत्ता लागिसकेकाले सोमबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीले लामो अनुसन्धानपछि अपराधी पत्ता लगाएको दावी गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले झण्डै दुईसाता लामो अवधिसम्मको गहिरो अनुसन्धानपछि हत्यारा पत्ता लगाउन प्रहरीलाई सफलता मिलेको बताए। उनले कृशलाको हत्यामा दुईजना संलग्न भएको प्रारम्भिक निश्कर्ष निस्केको बताउँदै नाम, ठेगाना भने पत्रकार सम्मेलनमै जानकारी गराउने बताए। ‘निकै कठिन अनुसन्धानपछि हत्यारा पत्ता लगाएका छाैं, आजै पत्रकार सम्मेलन गरेर अपराधी सार्वजनिक गर्दैछौं’ डिएसपी गौतमले भने ‘विस्तृत जानकारी चाही पत्रकार सम्मेलनमै पाउनुहुनेछ।’

साउन १३ गते घरबाट निस्केर परिवारको सम्पर्कभन्दा बाहिर रहेकी कृशलाको सडिसकेको मृत शरीर त्रियुगा नगरपालिका ६ कै राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलबीच रातमाटे खोला किनारमा १९ गते फेला परेको थियो। सालको रुखमुनि जरामा सामान्य पुरिएको अवस्थामा सडिसकेको लास देखेर स्थानीयले प्रहरीलाई खवर गरेका थिए। प्रहरीले लास बरामद गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएपछि सोधखोजी गर्ने क्रममा २० गते कृशलाका बाबुले शव आफ्नी छोरीको भएको पहिचान गरेका थिए।

हातमा लगाएको डिजिटल घडी, घाँटीमा लगाएको बुटी, खुट्टाको डोरी र लुगाको टुक्रा तथा केही टाढा रहेको चप्पलबाट प्रेमकुमार चौधरीले शव छोरी कृशलाको भएको यकिन गरेको प्रहरीले जनाएको छ। अनुहार नचिनिने गरी कालो भएको, शरीरको कम्मरमुनि भाग क्षतविक्षत भएको हुनाले सामुहिक बलात्कारपछि हत्या गरेको अनुमान स्थानीयले गरेका छन्।

प्रहरीले घट्ना घटेको २ साता बित्लाग्दासम्म अपराधी पत्ता लगाउन नसकेको भन्दै चौतर्फी दबाब बढेको थियो। राजनीतिक दलहरु, अधिकारकर्मी संघसंगठन, नागरिक समाज, महिला संघसंस्था, युवा, विद्यार्थी र बालबालिकासमेतले छिटो अनुसन्धान गरी दोषी पत्ता लगाएर काबाही गर्न दबाब दिदै सदरमुकाममा बिरोध प्रदर्शनसमेत गरेका थिए। त्यस्तै पीडितहरुको तर्फबाट बिभिन्न संघसंस्थाले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै प्रेसविज्ञप्ती जारी गरेर सरकारको ध्यानाकर्षण गराएका थिए।


प्रतिक्रिया दिनुहोस !