१२ हजार शिक्षकका लागि दरबन्दी खुलाउँदै आयोग, करिब ५८ हजार शिक्षक अपुग « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

१२ हजार शिक्षकका लागि दरबन्दी खुलाउँदै आयोग, करिब ५८ हजार शिक्षक अपुग



काठमाडौं । चार वर्षपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ । शिक्षक बन्न आवश्यक ठानिएको अध्यापन अनुमति पत्र प्राप्त गरेर बसेका करिब सात लाख शिक्षक यो प्रक्रियाको प्रतिक्षामा थिए ।

तर, अध्यापन अनुमति पत्र प्राप्त गरेका भन्दा १२ हजार ६ सय बढी स्थायी शिक्षकको दरबन्दी रिक्त छ । २०७८ चैतसम्ममा थप तीन हजार शिक्षक नियमित अवकाशमा जाँदा यो संख्या अझ बढ्ने अनुमान छ । भर्खरै पदाधिकारी पाएको आयोगले पदपूर्तिसहित अनुमति पत्रको परीक्षा, बढुवा लगायतका नियमित तालिका तयार पार्न लागेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठा बताउनुहुन्छ ।

शिक्षकको पदपूर्तिको हिसाब खोज्नु वाहियात कुरा भएको प्रा. डा. विद्यानाथ कोइराला बताउनुहुन्छ । ‘१२ हजार शिक्षक थप्नुपर्छ भन्नु वाहियात हो, ५९ हजार शिक्षक पुगेका छैनन् भन्नु झन् महा वाहियात हो,’ उहाँ भन्नुहुन्छ, ‘प्रविधिको सहारा लिएको खण्डमा शिक्षकको संख्या घटाउन सकिन्छ ।’ शिक्षक दरबन्दी भोटसँग टासिएको विषयवस्तु भएका कारणले पनि दरबन्दी खुलाउन लागिएको हुनसक्ने प्रा।डा। कोइरालाको तर्क छ ।

तर, शिक्षक महासंघ शिक्षाविद्को सुझाव ठाडै अस्वीकार गर्छ । सामान्य इन्टरनेटको सुविधा देशभर पुर्‍याउन नसकिरहेको अवस्थामा वैकिल्पक माध्यमबाट विधिबाट पठनपाठन गर्छु भन्नु दिवास्वप्न भएको महासंघका महासचिव सुवेदीको भनाइ छ ।

जे होस् प्रविधिमैत्री शिक्षक र पठनपाठन युगको माग हो । भलै आयोग आफ्नो योजना अनुसार स्थायी पदपूर्तिलाई प्राथमिकतामा राख्छ । अध्यापन अनुमति पत्र परीक्षा आर्थिक वर्ष ०७५/७६ मा पनि लिइएकाले पदपूर्तिलाई प्राथमिकतामा राखिएको आयोगको भनाइ छ ।

न्यून दरबन्दी हुँदा सामुदायिक विद्यालयमा शिक्षकको चर्को अभाव छ । त्यसैले त स्वतः अवकाश भएपछि रिक्त दरबन्दीमा विद्यालयले करार शिक्षक राखेर अध्यापन गराइरहेका छन् । सामुदायिकमा करिब ५८ हजार शिक्षक अपुग रहेको जानकारहरू बताउँछन् । अभाव टार्न स्वयंसेवक शिक्षक खटाउने नीति सरकारले अख्तियार गर्दै आएको छ  ।

दरबन्दी मिलानको सरकारी कार्य त्यति प्रभावकारी देखिँदैन । आयोगले ढिलो गरी स्थायी पदपूर्तिको प्रक्रिया अगाडि बढाइरहँदा अध्यापन अनुमतिपत्र लिएर बसेका धेरै शिक्षकहरूकै उमेर हद नाघिसकेको छ । यसले कतै रिक्त स्थायी शिक्षकका लागि आवेदककै संख्या कम हुने त होइन भन्ने जिज्ञासा जागेको छ ।


प्रतिक्रिया दिनुहोस !


भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

काठमाडौंका सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने अभियान जारी : मेयर विद्यासुन्दर शाक्य



काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंमा भएका सम्पदाको संरक्षण तथा सम्वर्द्धन गर्ने र तिनलाई पर्यटनसँग जोड्ने अभियान जारी रहेको बताएका छन्।

शाक्यले आज (शनिबार) वडा २१ को इनाखामा गणेश मन्दिर उद्घाटन गर्दै उनले भने, ‘काठमाडौंका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा महानगर लागेको छ।’ मेयर शाक्यको निवास पनि वडा २१ मै पर्छ।

उनले वडा २१ मात्र नभएर सबै वडामा सम्पदा निर्माण तथा पुनर्निर्माणलाई महानगरले प्राथमिकता दिँदै आएको बताए। उनले संस्कृतिको संरक्षण भएकै कारण महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको बताए। ‘त्यसकारण यो पहिचनालाई जीवन्त राख्न महानगर प्रयासरत छ, रहिरहन्छ,’ उनले भने।

काठमाडौं मन्दिरै मन्दिरको महानगरपालिका भएको पनि उनले बताए। ‘यहाँ घरबाट बाहिर निस्किनेबित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ उनले भने, ‘तर नजिकैको मन्दिर छाडेर बाहिरका मन्दिरको दर्शनका लागि बर्सेनि लाखौं काठमाडौंवासीले धार्मिक यात्रा गर्ने गरेका छन्।’

उनले काठमाडौंलाई धार्मिक ऐतिहासिक महत्वबारे अध्ययन-अनुसन्धान गर्ने थलो बनाउने, पर्यटकीय स्थलका रूपमा काठमाडौंलाई विकास गर्ने पनि बताए।

काठमाडौं घुम्न आउने पर्यटकको बसाइ म्ब्याउने योजना पनिअघि बढिरहेको उनले बताए। ‘स्थानीयसँगै अन्य व्यवसायीको जीवनयापन थप सहज बनाउन यहाँका सम्पदालाई पर्यटनसँग जोड्न हामी चाहिरहेका छौं।’

गुठी संस्थानसँग रहेका मठमन्दिर र जग्गा महानगरपालिकालाई दिएको खण्डमा खुलापार्क र सम्पदा निर्माणको कामलाई अघि बढाउँदै ऐतिहासिक सहरको पहिचानलाई थप बलियो बताउने विश्वास पनि उनले दिलाए।

प्रतिक्रिया दिनुहोस !

निर्माण नसकिँदै चर्कियो पुल, डिजाइन परिवर्तन गरेर पिलर र माथिको भाग बनाइँदै



रौतहटको गढवा पुल निर्माण नसकिँदै चर्किएको छ । पुल प्रयोग नै गर्न नमिल्ने गरी बीचमा चर्किएपछि डिजाइन परिवर्तन गरेर पिलर र माथिको भाग बनाउन लागिएको छ ।

गौर नगरपालिका–६ गढवामा बन्दै गरेको पुलको समस्या देखिएको भाग अहिले भत्काएर बनाउन लागिएको हो । प्रिस्टेट प्रविधिको पुलको लट्ठा तन्काउन लाग्दा मुख्य भाग नै चर्किएपछि झन्डै एक वर्ष निर्माण नै रोकिएको थियो ।

निर्माण अन्तिम चरणमा पुगेका बेला बीचमै चर्किएपछि डिजाइन फेरेर बनाउन लागिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर यादव कोइरालाले बताए । ‘डिजाइनकै कारण पुल बीचमा चर्किएको हो । अब पिलर थपेर पुनः बनाउन लागेका छौं,’ उनले भने, ‘प्राविधिक कारणले पुल सञ्चालनमा आउन नपाउँदै भत्काउनुपर्‍यो ।’

चन्द्रनिगाहपुर र सदरमुकाम गौर जोड्ने यो पुलको कन्काई इन्टरनेसनल बिल्डर्सले ५ करोड ६३ लाख ४ हजारमा टेन्डर सकार गरेको हो । बिल्डर्सले अहिले लागत बढेकाले उक्त रकम नपुग्ने दाबी गरेको छ । पुलको लम्बाइ ४० मिटर छ । पुल निर्माणको सम्झौता २०७४ कात्तिक २८ गते भएको थियो । सोही वर्ष काम सुरु गरी २०७६ भदौ २७ मा पूरा गर्ने सम्झौता भएको थियो । निर्माणको सबै काम सकेर ठेकेदारले हस्तान्तरण गर्ने अन्तिम समय त्यही वर्ष तोकिएको थियो ।

८० प्रतिशत काम सम्पन्न भइसकेपछि पुलको बीचमै चर्कियो । समयमा पुल बन्न नसकेपछि डिभिजन सडक कार्यालयले पहिलो पटक २०७७ असोज १४ गतेसम्मका लागि म्याद थपेको थियो । विभागबाट डिजाइन रिभ्यु नभएपछि पुल पुनर्निर्माण हुन ढिला भयो । अब फेरि एक वर्ष म्याद थप्नुपर्ने ठेकेदारले माग गरेको छ ।

‘पुल बनेर सकिन लाग्दै गर्दा लट्ठा तान्ने बेला बीचमै चर्किएपछि समस्या आएको हो,’ ठेकेदार अरबिन्द जयसवालले भने, ‘डिजाइन नै गलत भएकाले फेरि बनाउनुपरेको हो । अब एक वर्षभित्र काम सकेर सञ्चालनमा आउँछ ।’ यस्तो प्रविधिको पुल निर्माण गर्दा विज्ञको आवश्यकता पर्छ । विज्ञ नभएकै कारण पुल भाँचिएको ठेकेदारको भनाइ छ । पुलको स्ल्यापलाई टुचन लगाएर माथि उठाउने क्रममा चर्किएको थियो । यसरी उठाउँदा साइडमा प्रविधि जान्ने विज्ञ हुनुपर्थ्यो । ‘तर मिस्त्रीको भरमा तन्काउन लाग्दा चर्कियो,’ जयसवालले भने ।

पुलको एकतर्फ ७ वटा प्वाल छ । एउटा प्वालमा १९ वटासम्म ठूला तारको लट्ठा लगाइएको हुन्छ । त्यसैको मद्दतले पुललाई माथि उचाल्न तन्काउनुपर्छ । पुलमा पहिले दुई वटा मात्र स्पाम थियो । अब तीन वटा राखिएको ठेकेदार जयसवालले बताए । वर्षाले सदरमुकाम गौर डुबानमा पर्दा यो पुल नजिक बनाइएको डाइभर्सनसमेत बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो । बाँसको भर्‍याङ लगाई स्थानीयले पुल माथिबाट वारपार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: