७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

ओलीले एमालेलाई प्राईभेट कम्पनी बनाउन खोजेपछि विद्रोह गरेका हौँ : नेपाल



काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा दुई नेताबीच विवाद नभएर दुई विचार समूहको विवाद रहेको बताएका छन् । मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ओली प्रवृत्तिका विरुद्ध विद्रोहको झण्डा उचालेको बताए । नेता नेताले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको उल्लेख गरे ।

उनले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताए । उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको बताए । नेता नेपालले भने–‘पार्टीलाई सुदृढ एकता, सशक्त बनाउने, योग्यता क्षमताको आधारमा जिम्मेवारी दिने कुरामा ओलीको ध्यान गएन । उहाँको ध्यान सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित भएको छ । पार्टीको बारेमा चिन्ता छैन गुटको चिन्ता छ । उहाँ आफ्नो पद जोगाउन लाग्नुभएको छ । उहाँहरूको प्रत्येक अभिव्यक्ति वाणी सुन्नुभएको छ भने उहाँमा आत्मालोचनाको बानी छैन । अरू माथि लान्छना लगाउने, सबै दोष अरूको हो भनेर औँला ठड्याउने सबैलाई होच्याउने आफूलाई सर्वाधिकार ठान्ने बानी रहेको छ । उहाँको अहङ्कारबाट यो पवित्र पार्टी गुज्रिरहेको छ ।’

उनले पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको बताए । उनले भने, ‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्‍याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ । राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ । उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो ।

उहाँले एक समय देश भक्तिको झण्डा उठाउनुभएको थियो, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् । नेता नेपालले जसले पार्टीभित्र जित्न सकेको छैन, संसदमा जित्न सकेको छैन उसले नैतिकताका आधारमा ठाउँ खाली गरिदिनुपर्ने बताए । ओलीले आफ्नो कुर्सी ताके कुर्सी नै भाँचिदिन्छु, आफू बसेको घर नै जलाइदिन्छु भनेको स्मरण गरे ।

ओलीले दुई दुई पटक संसद् विघटन गरेको स्मरण गर्दै संसदमा विश्वासको मत नपाएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । उनले पार्टीले ६४ सालमा पराजय भोगेपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताए । यस्तै झलनाथ खनाल, र माओवादीका अध्यक्ष प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिएको स्मरण गरे । आफ्नो तत्कालको सङ्कटबाट पार पाउनका लागि अरूलाई अलमलाउने र जालझेल गर्ने ओलीको प्रवृत्ति रहेको नेपालले बताए ।


प्रतिक्रिया दिनुहोस !