१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न प्रहरीलाई पत्र



पर्वत : पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पर्वत प्रहरीलाई पत्र पठाएको छ । गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न आदेश दिइएको छ । अध्यक्ष मल्ललाई व्यवसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउको तयारी गरिएको बताउनुभयो । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उहाँले भन्नुभयो, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्छौं ।’ यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको दावी गर्नुभयो । २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको उहाँको भनाइ छ । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम १० लाख १७ हजार ९५ रुपैयाँ रहेको मल्लको भनाइ छ ।

‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि भन्ने रहेको छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उहाँले भन्नुभयो, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ ।’

‘बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ,’ उहाँले थप्नुभयो, ‘यो बारेमा थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’ नेपाली कांग्रेस पर्वतको कोषाध्यक्ष समेत रहनुभएका मल्लले आगामी १४ औँ अधिवेशनमा जिल्ला सभापतिको उम्मेदवारको तयारी गर्नुभएको छ । जिल्ला सभापतिमा लड्ने कुरा गरिरहेको र बलियो दाबेदार समेत रहेकाले आफूलाई यसबाट विफल पार्न यो अदालती प्रक्रिया अपनाइएको मल्लको गुनासो छ ।

‘फैसला भएको पनि मलाई त थाहा नै छैन । पहिले त्यो बारेमा थाहा भएको भए त तिरिदिन्थेँ,’ उहाँले भन्नुभयो, ‘मैले कसैलाई एक रुपैयाँ ठगेको र खाएको छैन, यो १० लाख तिर्नु पनि ठूलो कुरा थिएन । उनीहरूले समयमा नै मलाई भनेको भए तिरिन्थ्यो । कसरी हुन्छ बेइज्जत गराउने उद्देश्यले भएको हो जस्तो मलाई लाग्छ ।’

हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताउनुभयो । ‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । तर जमानी बसेका कारण यो अवस्था आएको हो,’ थापाले भन्नुभयो, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन ।’


प्रतिक्रिया दिनुहोस !