१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका पदाधिकारीमाथि आवश्यक छानविन गरी कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सिईओ चन्द्रसिंह साउदले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको देखिएको भन्दै आवश्यक छानविन गरि कारवाही बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले नै छाविन समिति बनाएकाले अध्ययन समितिको प्रतिवेदन समितिलाई पनि बुझाउनु र सोही अनुसार कारवाही गर्नु भनेर निर्देशन दिएको समिति सभापति कृष्ण प्रसाद दाहालले बताए । बैठकले पुँजी बजारको दिगो बिकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शीता, सदाचार, नैतिकताका साथ जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न नीतिगत, कानूनी, संरचनात्मक लगाएत सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन पनि अर्थमन्त्रालयलाई निर्देशन दिएको सभापति दाहालले बताए ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा समिति बनाएर छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गरिने बताए । उनले सर्वोत्तमको सेयर खरिदका बिषयमा मन्त्रालयले स्पष्टिकरण नै सोधिएको जानकारी पनि दिए । उनले यस क्षेत्रमा देखिएका बिकृतिलाई अन्त्य गर्न मन्त्रालय गम्भीर रहेको जिकिर गरे ।

बैठमा समिति सदस्यहरुले नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै छानविन गरि कडा कारवाही गर्नुपर्ने धारणा राखेका थिए । सांसद रामकुमारी झाँक्रीले सांसद रामकुमारी झाक्रीले बोर्डका अन्य कर्मचारीलाई पनि प्रभावमा पार्ने देखिएकाले संलग्नलाई तत्कालै निलम्बन गरी छानबिन गर्नुपर्ने बताए ।

त्यस्तै सांसद सुरेन्द्र पाण्डेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्नुपर्ने र सरकारले पनि कडा कानून निर्माण गर्नुपर्ने धारणा राखे । बुक बिल्डिङ विधिबाट सेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर बोर्ड अध्यक्ष ढुंगानाको छोरी र नेप्सेका सीईओ साउदको श्रीमतिले खरिद गरेको भन्दै समितिले यसअघि ढुंगाना र साउदलाई बोलाएको छलफल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !