८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देउवाको रोजाइमा किन परिरहन्छन् भानु देउवा ?



काठमाडौं । प्रधानमन्त्रीमा चयन भएको ४० दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बल्ल प्रमुख स्वकीय सचिव भानु देउवालाई औपचारिक नियुक्ति दिएको विषय बाहिर आएको छ ।

स्वकीय सचिवकै रुपमा काम गरे पनि भानु देउवा (शेरबहादुर देउवाका माइला भाइ लोकबहादुरका छोरा)लाई स्वकीय सचिव बनाउन पनि देउवाले यत्ति लामो समय खर्चिएका हुन् ।

यसअघि जस्तै यसपटक पनि देउवाले स्वकीय सचिवमा भानुलाई नै निरन्तरता दिन नचाहेका होइनन् । तर, देउवा पत्नी आरजुका रोजाइ भानु देउवा नभएको बताइन्छ ।

उनको रोजाइमा प्रकाश देउवा थिए । दुई मध्ये कसलाई प्रमुख स्वकीय सचिव बनाउने भन्ने चर्चाका बीच देउवाले यसअघि जस्तै भानुलाई नै रोजेका हुन् ।

यसअघि देउवा २०७४ मा प्रधानमन्त्री हुँदा पनि भानु नै देउवाका स्वकीय सचिव भएर काम गरेका थिए । देउवा पार्टी सभापति हुनुभन्दा अघि र भएपछि पनि देउवाका स्वकीय सचिव भइ भानुले नै काम गर्दै आएका छन् ।

तर, आरजुको स्वकीय सचिवालयमा काम गरेका प्रकाश देउवालाई बनाउन यसपटक बढी नै दबाबको सामना देउवाले गरेको पनि बताइन्छ । स्वयंम प्रकाशले भने यस्तो हल्लालाई नकारेका छन् । आफूले स्वकीय सचिव बन्न प्रयास नै नगरेको दाबी उनको छ ।

‘मैँले पनि प्रधानमन्त्रीको स्वकीय सचिव बन्नका लागि प्रयास गरेको भनेर चर्चा गरेछन् । तर, त्यस्तो होइन । अनावश्यक हल्ला गर्दै बीचमा खेलेका हुन्,’ प्रकाशले नेपालवाचसँग भने, ‘म उहाँहरूको भतिजो हुँ । यसैले नजिकबाट सहयोग गर्दै आएको हुँ ।’ प्रकाशले आरजुको सचिवालयमा काम गर्दै आएका छन् ।

प्रकाशको नाम पनि प्रधानमन्त्री पत्नी आरजु राणा निकटहरुले नै चर्चामा ल्याएका थिए । तर, स्वकीय सचिवका रुपमा विश्वासिलो भएर काम गरेका भानुकै निरन्तरता देउवाले चाहेका हुन् ।

भानु किन सधैं देउवाको रोजाइमा ?

भानु देउवा शेरबहादुर देउवाका माइला भाइ लोकबहादुरका छोरा हुन् । कम बोल्ने, लो प्रोफाइलमा बस्ने, विश्वासिलो भएर काम गर्ने गरेकै कारण भानु नै उनको रोजाइमा पर्दै आएको बताइन्छ ।

‘स्वकीय सचिव भन्नेबित्तिकै विभिन्न लाभका विषयमा पनि उत्तिकै पोख्त हुन्छन् भन्ने बुझाइ छ । यसअघि केही नेताका पिएले जिम्मेवारीमा बसेर अत्याधिक आर्थिक लाभ लिएका उदाहरण पनि छन्,’ कांग्रेसमा देउवालाई नजिकबाट बुझेको स्रोत भन्छ, ‘तर भानु देउवाका भतिजा हुन् । घरभित्रैका हुन् । असाध्यै सरल र विश्वासिला छन् । यसैले उनलाई रोजेको देखिन्छ ।’

४० वर्ष उमेर आसपासका भानु प्रधानमन्त्री देउवाका आवश्यक काममा मात्र ध्यान दिन्छन् । अरु नेताको पिए जस्तो सरुवा, बढुवा, नियुक्तिसहितका विषयमा भानुले कहिल्यै चासो नदिने गरेको बताइन्छ । यस्ता विषयमा काम गरिदिन आउने पनि भानुले काम गराइदिनेमा विश्वास नगर्ने गरेको बताइन्छ ।

‘नेताहरुको पिए भन्ने बित्तिकै सरुवा, बढुवा, नियुक्ति ठेक्कापट्टा जस्ता धेरै काम मिलाइदिन्छन् भन्ने आशयले मान्छे धाउन खोज्छन्,’ कांग्रेस स्रोत भन्छ, ‘तर, भानुको नेचर यस्तो छैन । उनी विशुद्ध देउवालाई अफिसियल प्राविधिक काममा मात्रै सहयोग गर्ने गर्छन् ।’


प्रतिक्रिया दिनुहोस !