८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अक्षय कुमारको फिल्म ‘बेल बटम’ तीन देशमा प्रतिबन्ध



बलिउड स्टार अक्षय कुमारको हालै रिलिज भएको फिल्म ‘बेल बटम’ प्रदर्शनमा कुवेत, साउदी अरेबिया र कतारले प्रतिबन्ध लगाएका छन्।

फिल्ममा देखाइएको तथ्य झुठो भएको भन्दै यी देशले फिल्ममा प्रतिबन्ध लगाएका हुन्। भारतको फिल्म सर्टिफिकेसन अथोरिटीका अनुसार फिल्म बेल बटममा ऐतिहासिक तथ्यलाई उल्टोपाल्टो पारेर प्रस्तुत गरिएको छ।

सन् १९८४ मा आतंकवादीले लाहोरबाट एउटा विमान अपहरण गरी दुबई लगेका थिए। सो घटना संयुक्त अरब इमिरेट्सका रक्षामन्त्रीले सम्हालेका थिए। उनले विमान अपहरण गर्ने आतंकवादीलाई पक्रेर भारत सरकारलाई बुझाएका थिए।

तर, सोही विमान अपहरणको घटनामा आधारित फिल्म बेल बटममा विमान अपहरण गर्ने आतंकवादीलाई पक्राउ गर्ने काम ‘रअ’ का एजेन्टमार्फत भएको देखाइएको छ। यही कारण मध्यपूर्वी देशमा सेन्सर बोर्डले यस विषयमा आपत्ति जनाएपछि फिल्मलाई प्रतिबन्ध लगाइएको समाचारमा जनाइएको छ।

फिल्ममा अक्षय कुमारले अंशुल मल्होत्रा नामका एक रअ एजेन्टको भूमिका निभाएका छन्। यो फिल्मको निर्देशन रञ्जित तिवारीले गरेका छन् भने कथा असीम अरोड र परवेज शेखले लेखेका हुन्।


प्रतिक्रिया दिनुहोस !