१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

९७ जना कोरोना संक्रमितको उपचार खर्च साढे २ करोड



काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालले ९७ जना कोरोना संक्रमित बिरामीको उपचारका लागि साढे २ करोड खर्च गरेको छ ।

कोरोना संक्रमण सुरुभएदेखि गत असार मसान्तसम्म ९७ जना बिरामीलाई उपचारमा २ करोड ५४ लाख खर्च लागेको महालेखा परीक्षकको प्रतिवेदनमा औंलाइएको छ ।

उपचारमा संम्लग्न स्वाथ्यकर्मीको होटल तथा क्वारेनटाइन व्यवस्थापन खर्च मात्रै ५८ लाख ९० हजार प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारले कोभिड नियन्त्रण र व्यवस्थापनाका लागि २ करोड ६२ लाख बजेट उपलब्ध गराएको थियो ।

५ करोडको मेसिन अलपत्र

अस्पतालमा क्याथ ल्याब मेसिन खरिद गरेको डेढ भए पनि जडान हुन सकेको छैन । मुटुको शल्यक्रिया लगायतका उपचार सेवामा प्रयोग हुन उक्त मेसिन अस्पतालले ४ करोड ९२ लाख १० हजारमा खरिद गरेको थियो ।

२०७६ सालको चैत महिनामा नै आइपुगेको उक्त मेसिनलाई अस्पतालले नयाँ भवन निर्माण गरी क्याथ ल्याब मेसिन जडान गर्ने भन्दै मेसिन थन्क्याएर राखेको छ ।

क्याथ ल्याब ल्याउने समयमा नै नयाँ भवन बनाउने भनिए पनि अहिलेसम्म भवन निर्माणको काम नै सुरु भएको छैन ।

त्यस्तै, अस्पतालमा रहेको एक मात्र सिटी स्क्यान मेसिन पनि प्रयोगमा आउन सकेको छैन ।

अस्पतालमा इकोकार्डियो उपकरण मर्मत नहुँदा मुटुका बिरामीहरुले सेवा पाउन नसकेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालमा एमआरआइ, सिटी स्क्यान लगायतका उपकरण अभाव र आइसीयू बेड उपलब्ध नभएका कारण भर्ना भएका ४१३ बिरामी अन्यत्र रेफर भएका छन् ।


प्रतिक्रिया दिनुहोस !