१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

तालिवानसँग अफगान सेनाले सहजै आत्मसमर्पण गर्नुका विभिन्न कारणहरु



अमेरिका तथा पश्चिमका मुलुकहरूलाई चकित खुवाउँदै तालिबानले सोचेभन्दा छिटो देशमा कब्जा जमाएपछि यसको कारण धमाधम खोतल्न थालिएको छ । अफगान सेना तालिबानसँग लड्न तयार नभइसकेको अवस्थामा अमेरिका र नेटोले देश छोड्नु यसको एउटा कारण मानिएको छ । अनि अफगान सेना तथा सरकारमा व्याप्त चरम भ्रष्टाचारले गर्दा युद्धमोर्चामा लड्ने सैनिकहरू राम्रो तलब नपाएकाले हतोत्साहित भएर छिटो आत्मसमर्पण गरेको अर्को कारण देखाइएको छ । तीन लाख सैनिक छन् भने पनि खासमा नभएका सैनिक देखाएर सेनाका उच्च अधिकृतले तलब खाइदिने गरेको अर्को कारण बताइएको छ ।

अर्को महत्त्वपूर्ण कारण भनेको अफगानिस्तानको संस्कृति बुझ्नका लागि अमेरिकाले पाएको विफलता हो । त्यसको व्याख्या तल गरिनेछ । अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत गराए पनि त्यसलाई सिध्याउन सकेको थिएन । अनि उसले अफगान सेना निर्माणका लागि समाजका तिनै सदस्यहरू लिएको थियो जुन समाजबाट तालिबान लडाकूहरू पनि आउँछन् ।

अफगानिस्तान पश्चिमी मुलुक जस्तो हैन, त्यहाँको इतिहास र संस्कृति बेग्लै छ भन्ने कुरा अमेरिकाले कहिल्यै बुझ्न सकेन र त्यसको परिणाम अहिले देखिएको हो । टमस बारफील्डको पुस्तक ‘अफगानिस्तान ः ए कल्चरल यान्ड पोलिटिकल हिस्ट्री’मा उल्लेख भएअनुसार, अफगानिस्तान अनेकौं जातीय र भाषिक समुदाय भएको मुलुक हो । त्यहाँ आफ्नो जातीय समुदायप्रतिको बफादारिता समग्र राष्ट्रप्रतिको बफादारिताभन्दा प्रायः जसो माथि नै हुन्छ ।

अफगानिस्तानमा पश्तुन जाति सबभन्दा धेरै संख्यामा छन् र तालिबान पश्तुन जातिबाटै आउँछन् । अमेरिकाले अफगान सेना बनाउँदा देशको जनसंख्या अनुसार सैनिक भर्ना गरेको हो । तर त्यसक्रममा उसले एउटा ठूलो भूल गर्दै देशका अल्पसंख्यक जातिका सैनिकलाई लगभग सबै ब्रिगेडको कमान्ड दिएको थियो ।

विशेषगरी उत्तरतिरका जातिहरू ताजिक र उज्बेकलाई सेनाको उच्च तहमा स्थान दिइएको थियो भने पश्तुनहरू तल्लो तहमा थिए । दी एसोसिएटेड प्रेसले ११ वर्षअघि तयार पारेको रिपोर्टमा अर्गानदाब उपत्यकामा रहेको कम्ब्याट आउटपोस्ट वेयरमा ४० जना सैनिक रहेकोमा पश्तुन जातिका जम्मा दुई सैनिक थिए । तीमध्ये एकजना भान्से थिए । अनि यी अफगान सैनिकहरू वरपरको गाउँमा गश्ती गर्न जाँदा गाउँलेहरूले उनीहरूलाई बाहिरिया मान्थे ।

भनाइको तात्पर्य, अल्पसंख्यक जातिका मानिसलाई माथिल्लो तहमा राखेर अमेरिकाले देशलाई एकताबद्ध गर्न सकिने भनी बनाएको रणनीति नै बेकामे थियो । सबै जातीय समूहले सम्मान अनुभव गर्ने गरी सेनामा दर्जा निर्धारण गर्नुपर्ने थियो ।

त्यस्तै खराब रणनीति अमेरिकाले इराकमा पनि अंगीकार गरेकाले राष्ट्रनिर्माणको लक्ष्यप्राप्तिमा सफलता पाउन सकेको थिएन । त्यहाँको सुन्नी समुदायलाई सत्तामा सार्थक सहभागिता गराउन अमेरिकाले पहल गरेन । फलस्वरूप, सुन्नीहरूमा वितृष्णा छायो । अनि सद्दाम हुसेनको सेनालाई अमेरिकाले छिन्नभिन्न पनि बनायो । ती सबै जुटेर उग्रवादी इस्लामिक स्टेट आतंककारी बने । माथि उल्लेख गरिएबमोजिम अफगानहरूमा राष्ट्रप्रति भन्दा जातीय समुदायप्रति बफादारिता बढी छ । त्यसैले सरकारप्रति अफगान सेनामा रहेका विभिन्न जातिका सैनिकहरूको बफादारिताको आशा गर्नु नै बेकार थियो ।

अमेरिकाले सोचेजस्तो लोकतन्त्र र उदारवादी शासन व्यवस्था लगायतका विचारधाराहरूमा अफगानहरूलाई ज्यान फाल्न समेत तयार पार्ने शक्ति नै छैन । पत्रकार क्रेग ह्विटलकले आफ्नो पुस्तक ‘दी अफगानिस्तान पेपर्स’मा लेखेका छन्– अफगानहरू सरकारका लागि मर्न मार्न तयार छन् कि छैनन् भन्ने कुरा नबुझिकनै अमेरिकाले उनीहरूलाई पश्चिमी शैलीमा तालिम दियो । यही अबोधताका कारण देशको दह्रो सेना बनाउने रणनीति असफल हुन पुग्यो अनि अमेरिकी करदाताहरूबाट उठाएको ८३ अर्ब डलर पानीमा बगेर गए जस्तो भयो ।

तर तालिबानसँग भने जातीय गौरवको पूँजीका साथै इस्लामको विचारधारा दह्रो आधारका रूपमा रहेको थियो । बीस वर्षअघि आफूहरू सत्ताबाट बाहिरिएदेखि नै तालिबानले इस्लामिक विचारधारालाई कदापि परित्याग नगर्ने र पश्चिमी उपनिवेशवादीहरूलाई देशबाट भगाउनका लागि जुन हदसम्म पनि जाने प्रबल सोच थियो । विचारधाराको यो अडिगपना नै अन्ततोगत्वा विजयी भयो ।

यही जातीय तथा सांस्कृतिक बफादारितालाई तालिबानले अफगान सेनामा घुसपैठ गर्नका लागि चतुरतापूर्वक उपयोग गरेकाले पनि अफगान सेनाले छिटो आत्मसमर्पण गरेको देखिन्छ । अफगान सेनामा असन्तुष्टि पालेर बसेका पश्तुन जातिका सैनिक तथा राम्रो तलब नपाएर निराश बनेका सैनिकलाई तालिबानले आफ्नो स्वार्थका लागि उपयोग गरेको विभिन्न प्रतिवेदनले देखाएका छन् ।

अमेरिकाले अफगानिस्तान युद्धको निगरानीका लागि बनाएको अपरेसन फ्रीडम्स सेन्टिनेलले सन् २०२० को मे महिनामा प्रकाशन गरेको प्रतिवेदनमा अफगान सैनिकहरूले एकअर्काविरुद्ध गरेको आक्रमण तथा तालिबान घुसपैठियाहरूले गरेको आक्रमणमा परी सन् २०१९ मा १७२ जना सैनिकको मृत्यु भएको र ८५ जना घाइते भएको उल्लेख छ । ग्रीन अन ब्लु आक्रमण नाम दिइएको यस्ता घटनामा अफगानिस्तानका सुरक्षाबलले एकअर्काविरुद्ध हतियार चलाएको पाइएको थियो ।

यसले दुईवटा कुरालाई संकेत गरेको छ । पहिलो, अफगान सेनामा रहेको जातीय असन्तुष्टिका कारण एक जातिका सैनिकले अर्को जातिमाथि आक्रमण गरेको यसबाट देखिन्छ । दोस्रो, तालिबान लडाकूहरू अफगान सेनामा घुसपैठ गरेर आक्रमण गर्नु भनेको भित्रबाट कसैले उनीहरूलाई सहयोग गर्नु हो । त्यस्तो सहयोग कि त जातीय बफादारिता निर्वाह गर्ने पश्तुनहरू हुनुपर्छ कि त तालिबानको पैसामा बिकेका अन्य जातिका सैनिक हुनुपर्छ ।

तालिबान र अमेरिकाबीच दोहामा वार्ता चल्न थालेदेखि त्यस्ता किसिमका आक्रमणहरू घटेको माथि चर्चा गरिएको प्रतिवेदनमा उल्लेख छ । दोहा वार्तालाई तालिबानले रणनीतिक रूपमा लिँदै अफगान सरकारको मनोबल गिराउनका लागि उपयोग गरेको स्पष्ट नै छ । त्यसैले गर्दा आफ्नो विजय हुन लागेको आकलन गरेपछि दोहा वार्ताका बेलामा अफगान सैनिकहरूमा तालिबानको घुसपैठ घटेको हुनुपर्छ ।

अहिले तालिबानले विजय प्राप्त गरेपछि अफगान सेनाले आत्मसमर्पण गरेका हतियारहरू तालिबान लडाकूले देखाउँदै हिँडेका छन् । यो अहिलेको मात्र कुरा नभई धेरै अगाडिदेखि अफगान सेनामा तालिबानको घुसपैठ भएकाले सेनाको हतियार तालिबानको हातमा पर्ने गरेको थियो ।

टास्कयान्डपर्पोज डट्कममा प्रकाशित रिपोर्टमा उल्लेख गरिएअनुसार, सन् २०१६ मा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले गरेको लेखापरीक्षणमा सन् २००२ देखि अफगान तथा इराकी सुरक्षाफौजलाई दिइएको १५ लाख हतियारमध्ये लगभग आधा हराएको पाइयो । राम्ररी अभिलेख नराख्ने तथा नियमन नगर्ने हुँदा हतियारहरू हराएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सन् २०१४ मा प्रकाशित स्पेसल इन्सपेक्टर जनरल फर अफगानिस्तान रिकन्स्ट्रक्सन ९सिगार० को प्रतिवेदनअनुसार, अफगान सुरक्षाबललाई उपलब्ध गराइएको हतियारमध्ये लगभग ४३ प्रतिशत तालिबान वा आईएस जस्ता समूहमा पुगेको हुनसक्छ । अफगान सरकारको हतियार भण्डारबाट थुप्रै हातहतियार हराएको पनि उक्त प्रतिवेदनले औंल्याएको छ ।

यसरी चरम भ्रष्टाचार तथा बेथितिसँगै अफगान सेनामा तालिबानको गहिरो घुसपैठका कारण उक्त सेना तालिबानविरुद्ध लड्न नसकेको देखिन्छ । अमेरिकाले भ्रष्टाचार रोक्न नसक्दा तथा अफगानिस्तानको समाज र संस्कृति बुझ्न नसक्दा खर्बौं रुपैयाँ खर्च गरे पनि सार्थक अफगान सेना बनाउन नसकेको हो ।

अमेरिकाकै सरकारी निकायहरूले वर्षौंदेखि यस विषयमा सचेत गराउँदै आएको भए पनि सरकारले वास्ता नगरेको देख्दा चाहिँ अमेरिकाले जानीजानी तालिबानकहाँ हतियार पुगोस् भन्ने चाहेको हो कि भन्ने शंका पनि उत्पन्न भएको छ । तालिबानको विजयपछि दक्षिण र मध्य एसियामा अव्यवस्था कायम रही चीन र रुसको ध्यान त्यहीँ अल्झिरहोस् भन्नका लागि तालिबानले आफ्नो हतियारमा कब्जा गर्न सक्ने थाहा पाएर पनि अमेरिकाले आँखा चिम्लिएको पनि हुन सक्छ ।

लेखक विन्देश दहाल लोकान्तर डटकमका कूटनीतिक मामिला सम्पादक हुन् ।


प्रतिक्रिया दिनुहोस !