१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रदेश सभामा माधव नेपालको शक्ति कति ? यस्तो छ, हिसाब किताब



काठमाडौं : नवगठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर ठानिएका ९ स्थायी समिति सदस्यहरुले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्दा माधव नेपाललाई साथ दिएनन् । ती मध्येका एक नेता हुन् भीम आचार्य । उनले नेपाललाई साथ नदिएकै कारण प्रदेश १ को मुख्यमन्त्री बन्ने अवसर पाए । कानुनी रूपमा एक दुई दिनसम्म मात्रै एमालेको प्रदेश १ मा बहुमत रहन्छ। नेकपा एकीकृत समाजवादीले संसदीय दल बनाएसँगै प्रदेश १ मा एमालेले बहुमत गुमाउने निश्चित छ। अहिले देखिएको समिकरणअनुसार आचार्यले विश्वासको मत नपाउने निश्चित छ। ९२ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद छन्।

आफूहरूसँग १२ देखि १५ सांसद रहने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश. १ का सांसद राजेन्द्र राईले बताए। एमाले प्रदेश सभा सदस्यहरूले भदौ २९ सम्ममा प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीमा गएको सनाखत गर्न सक्नेछन्। केही दिनअघि जारी भएको अध्यादेश अनुसार यसरी दल परिवर्तन गर्दा उनीहरूलाई कुनै कारबाही गर्न मिल्दैन। प्रदेश १ पछि बागमती प्रदेशमा पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन्। भदौ २ गते एकाएक मुख्यमन्त्री बनेकी शाक्यको सत्ता यात्रा पनि संकटमै पर्ने देखिएको छ। बागमती प्रदेशमा एकीकृत समाजवादीले संसदीय दल गठन भएपछि शाक्यले विश्वासको मत लिनु पर्नेछ। सत्ता लम्ब्याउनका लागि उनले एकीकृत समाजवादी रोज्नुपर्छ।

१ सय ९ सदस्यीय प्रदेश सभामा एमालेका ५६ सांसद छन्। जसमध्ये माधव नेपालको पक्षमा २० जना थिए। शाक्यले नेपालको साथ छोडेसँगै नेपाल पक्षमा रहेका सांसदहरूको संख्या पनि घट्ने निश्चित छ। शाक्यले अझै पनि एकीकृत समाजवादी रोज्ने पाउँछन् तर उनी एमालेको स्थायी कमिटी बैठकमा सहभागी भइसकेकाले उनले पार्टी परिवर्तन गर्ने सम्भावना देखिँदैन। यसअघि सुदूरपश्चिम प्रदेशका बहुमत सांसद नेपाल समूहमा थिए। एमालेको निर्देशनविपरीत नेपाल समूहका सांसदले माओवादी केन्द्रलाई समर्थन गरेको थियो। एमाले उपध्यक्ष भीम रावलले नेपाललाई साथ नदिएकाले प्रदेशका सांसद कता लाग्छन् भन्ने अझै टुंगो लागिसकेको छैन।

५१ सदस्यीय प्रदेश सभामा एमालेका २५ जना सांसद छन्। तीमध्ये १७ जना नेपाल पक्षमा थिए। तीमध्ये कति सांसद एमालेमै रहन्छन् र कतिले एकीकृत समाजवादी रोज्छन् भन्ने अझै टुंगो लागिसकेको छैन। १३ भन्दा धेरै सांसद आफ्नो पक्षमा आउने एकीकृत समाजवादीको दाबी छ। एकीकृत समाजवादीमा लागेका सुदूरपश्चिम प्रदेशका सांसद दीर्घ सोडारीले बहुमत एमाले सांसद नयाँ पार्टीमा लाग्ने दाबी गरे।

अहिलेसम्मको समिकरणलाई आधार मान्ने हो भने माधव नेपालले सबैभन्दा ठूलो झट्का प्रदेश २ मा दिँदैछन्। प्रदेश २ मा एमालेका २१ सांसद छन्। जसमध्ये १३ सांसद नेपालको पक्षमा यसअघि नै खुलेका छन्। कर्णाली प्रदेशमा माधवकुमार नेपालकै कारण एमाले प्रतिपक्षमा पुगेको हो। एमालेका ४ सांसदले फ्लोर क्रस गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका हुन्। फ्लोर क्रस गर्ने ४ सांसदको पद गइसकेको छ।

अहिले प्रदेश सभामा एमालेका १६ सांसद छन्। १६ मध्ये अहिलेसम्म २ जनाले एकीकृत समाजवादी रोजेका छन्। नेपालको पक्षमा अहिलेसम्म अरू सांसद थपिने सम्भावना छैन। लुम्बिनी र गण्डकी प्रदेशमा भने एकीकृत समाजवादीको संसदीय दल गठन हुन कठिन देखिएको छ। गण्डकीमा नेपाल पक्षमा एक जनामात्रै सांसद थिए भने लुम्बिनीमा दुई सांसद थिए। उनीहरूमध्ये कोही पनि एकीकृत समाजवादीमा खुलेका छैनन्।


प्रतिक्रिया दिनुहोस !