१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिमका २५ एमाले सांसदमध्ये १० जना एकीकृत समाजवादी पार्टीमा सामेल



धनगढी । सुदूरपश्चिम प्रदेशसभाका २५ एमाले सांसदमध्ये १० जनाले मंगलबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका छन् । मंगलबार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा पुगेर उनीहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका हुन् । एमाले छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ । सनाखत गराउने १० सांसदमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले भदौ २२ सम्म सनाखतका लागि समय दिएको छ ।


प्रतिक्रिया दिनुहोस !