१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा



काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।

नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा नेपाल २-० ले पराजित भएको थियो । दशरथ रंगशालामा भने सन् २०१५ पछि यी दुई टोली पहिलो पटक खेलेका हुन् । ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

भारतीय डिफेन्डर चिन्ग्लेनसाना सिंह कोनसामले गोलकिपरलाई ब्याक पास दिएको बल गोलकिपर गुरप्रित सिंह सन्धुले क्लियर गर्न नसकेपछि अन्जनले उनलाई छलाउँदै गोल गरेका हुन् ।

त्यसअघि ३२ औं मिनेटमा नेपालले पेनाल्टी एरिया बाहिर फ्रिकिक पाएको थियो । त्यसमा अन्जन विष्टको प्रहार पोष्टभन्दा धेरै माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा पछि परेको भारतले दोस्रो हाफमा चार खेलाडी परिवर्तन गरेको थियो । ५० औं मिनेटमा अनिरुध थापाको फ्रिकिकमा कप्तान सुनील क्षेत्रीले पोष्ट नजिकबाटै प्रहार गरेको बल नेपालका गोलकिपर किरणले बचाएका थिए ।

६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।

अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

६५ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गर्दै मनिस डाँगी, सुनिल बल र विशाल राई मैदान प्रवेश गरेका थिए । मनिष नवयुगको स्थानमा, सुनील आयुष घलान र विशाल सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका हुन् ।

८३ औं मिनेटमा भारतका मनविर सिंहले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल गोलपोष्टको दिशा लिन सकेन । इन्जुरी टाइममा सुमन अर्यालको पासमा मनिष डाँगीको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस !