७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

गिद्धको गणना आजदेखि



काठमाडौँ ।अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ ।

नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र रूपमा लोपहुँदै गएपछि सन् २००९ देखि गिद्ध संरक्षणका लागि यो अभियान सुरु भएको हो । गिद्ध प्रकृतिलाई सफा राख्ने मानवको मित्र पक्षी हो । वातावरण र मानव स्वास्थ्यलाई हानि हुने सिनो र फोहोर खाएर प्राकृतिक वातावरण स्वच्छ राख्ने गर्छ । आईयूसीएन अर्थात् प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घमा सूचीकृतमध्ये नेपालमा पाइने पाँच प्रजातिका गिद्ध अति सङ्कटापन्नमा सूचीकृत छन् । जसमा डङ्गर गिद्ध, खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध र सेतो गिद्ध रहेका छन् ।

अन्य तीनवटा गिद्ध खतराको नजिकको सूचीमा रहेका छन् । जसमा हिमाली गिद्ध, राज गिद्ध र हाडफोर गिद्ध रहेका छन् । सन् १९९० तिरबाट नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा घट्दै गएकोमा सन् २००० आसपास आइपुग्दा भएकामध्ये करिब ९५ प्रतिशत गिद्ध घटेको पाइएको पक्षीविद् डा. तुलसी सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै गिद्धको सङ्ख्या ९९ प्रतिशतसम्म घट्न पुगेको थियो । त्यसअघि नेपालमा मात्र पाँच लाखको सङ्ख्यामा गिद्ध पाइन्थ्यो ।

यसरी अचानक ठूलो सङ्ख्यामा गिद्धको सङ्ख्या घट्नुमा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रमुख कारक रहेको पाइएपछि सन् २००६ देखि त्यो औषधि नेपालमा प्रतिबन्ध लगाइएको छ तर लुकिछिपी त्यस्तै खालका औषधि पशुमा प्रयोग हुँदा गिद्ध मर्ने क्रम रोकिएको छैन । केही दिन अघिमात्र नवलपरासीमा ६९ वटा गिद्ध एकै ठाउँमा मरेको पाइएको थियो । ती गिद्धले औषधि प्रयोग गरेर मारिएको कुकुरको सिनो खाएकाले मरेको पाइएको उहाँले बताउनुभयो । संरक्षणकारी उपाय अपनाउँदा अपनाउँदै पनि अहिले नेपालमा १० हजार हाराहारीमात्र गिद्ध पाइन्छ । नौ प्रजातिका गिद्धमध्ये सानो खैरो गिद्धको सङ्ख्या त मात्र ५० वटा रहेको छ ।

गिद्ध संरक्षणलाई थप प्रभावकारी बनाउनकै लागि शनिबारदेखि नवलपरासीसहित देशका विभिन्न स्थानमा यसको गणना गरिँदैछ । नेपालमा पहिलो पटक २०६५ सालमा गिद्ध गणना भएको थियो । यस गणनाले गिद्धको वैज्ञानिक सङ्ख्या पत्ता लगाउनेभन्दा पनि संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको छ । पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति सङ्घ, नेपाल पक्षीविद् सङ्घलगायतको सक्रियतामा गणना हुन लागेको हो ।

अब प्रकृतिमै गिद्धको संरक्षण गरिने

नेपालमा अचानक गिद्धको सङ्ख्या घटेपछि सन् २००८ देखि गिद्ध प्रजनन केन्द्र स्थापना गरेर संरक्षण थालिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज कसरामा गिद्ध प्रजनन केन्द्र स्थापना गरी गिद्धको बच्चा हुर्काएर प्रजनन बढाउने परियोजना सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “डङ्गर गिद्धका जङ्गली अवस्थाका ६८ वटा बच्चा ल्याएर सुरु गरिएको संरक्षणकारी उपायले समुदायमा गिद्ध जोगाउनुपर्छ भन्ने सचेतना बढाउन निकै सहयोग पु¥यायो ।” उहाँका अनुसार खोरभित्र पालिएर हालसम्म ती गिद्धबाट जन्मिएका १८ वटा बच्चा हुर्किए । जसमध्ये एउटाको मृत्यु भयो । अन्य १५ वटा प्रकृतिमा छाडिएको छ । बाँकी दुई बच्चा नवलपरासीको पिठ्यौलीमा छाड्नका लागि तयार छ । हालसम्म ३२ वटा गिद्ध केन्द्रबाट प्रकृतिमा छाडिएको छ ।

हुर्केका अरू नौवटा गिद्ध पनि यसै वर्ष प्राकृतिक वातावरणमा नै छाडिने तयारी रहेको उहाँले बताउनुभयो । अबदेखि प्रजनन केन्द्रमा राखेर गिद्धको बच्चा हुर्काइने छैन । एउटा गिद्ध हुर्काउन एकदेखि दुई लाखसम्म खर्च लाग्छ तर त्यसको उत्पादन सोचेजति सफल हुने वा नहुने तय नहुने देखिएपछि प्रकृतिमै राखेर संरक्षण गर्ने योजना बनाइएको छ । -गोरखापत्र


प्रतिक्रिया दिनुहोस !