८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पलेशा ऐतिहासिक ओलम्पिक पदकबाट वञ्चित



टोकियो २०२० पारालम्पिकको तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धन रेपेचेजतर्फको फाइनलमा पराजित हुँदै ऐतिहासिक पदकबाट चुकेकी छन् । पलेशा चीनकी युजी लीसँग १२–९ को झिनो स्कोरमा पराजित भएपछि नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट वञ्चित भइन् ।

यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४–२ को अग्रता लिएकी थिइन् । दोस्रो राउन्डमा लीले ५–० ले जित्दै समग्रमा ७–४ को अग्रता लिइन् । तेस्रो तथा निर्णायक राउन्डमा ५–५ को बराबरी स्कोर गरे पनि उनी खेल जित्न असमर्थ रहिन् ।

खेल अवधिमा उनले ४ पटकसम्म फलमार्फत विपक्षीलाई अंक सुम्पिँदा समग्रमा १२–९ ले पछि पर्दै कास्य जित्नबाट वञ्चित भइन् । त्यो नै उनको हारको कारक बन्यो । त्यसअघि महिला के ४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशा प्रतियोगिताको पहिलो खेलमा ग्रेट ब्रिटेनकी बेथ मुनरोसँग पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएपछि स्वर्ण पदकको सम्भावना समाप्त हुँदा रेपेचेजमार्फत कास्य पदकका लागि भने प्रतिस्पर्धा गर्ने अवसर पाएकी थिइन् ।

रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा अमेरिकी ब्रायना सालिनारोलाई १०–० ले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । ओलम्पिक स्पर्धामा नेपालका कुनै पनि खेलाडीले जित हासिल गरेको यो नै पहिलो अवसर थियो । पलेशाले सेमिफाइनलमा सर्बियाकी मिसेभलाई हराउँदै पदक भिडन्तमा स्थान पक्का गरेकी थिइन् । मिसेभले पहिलो चरणमा ४–४ को बराबरी गरे पनि दोस्रोमा ७–२ र तेस्रोमा १२–९ को स्कोरले पलेशा समग्रमा २३–१५ ले विजयी रहिन् । यस जितले उनको लीसँगको भिडन्त पक्का भएको थियो । योसँगै उनी ओलम्पिक स्पर्धामा दुई खेल जित्ने पहिलो नेपाली खेलाडी बनिन् ।
पलेशा एकै ओलम्पिकमा चार खेल खेल्दा २ खेलमा जित हात पार्न सफल भइन् । उनले विश्व वरीयताका शीर्ष खेलाडीसँग आफ्नो कडा चुनौती पेस गरेकी थिइन् । पारालम्पिकमा पहिलोपटक समावेश गरिएको तेक्वान्दोमा पलेशाले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द गएपछि छनोट प्रतियोगिता खेल्न पाएकी थिइनन् ।

त्यसैले वाइल्ड कार्डबाट उनको टोकियो यात्रा सम्भव भएको थियो । १८ वर्षीया पलेशाले सन् २०१६ मा राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गरेयता ६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले कास्य जितेकी थिइन् । पलेशा प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेका पुगेको थिए । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी थिइन् ।

पारालम्पिकमा पलेशा गोवद्र्धनले गर्व गर्न लायक प्रदर्शन गर्दा देशवासीको शिर गर्वले उचो पारेको छ । कुनै पनि ओलम्पिकमा दुई फाइट जित्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनको प्रदर्शनलाई नेपाली खेलकुदले सधै स्मरण गर्नेछ । पदक जित्नबाट थोरै चुके पनि उनले नेपाली खेलाडीमा रहेको सम्भावनालाई विश्वसामु देखाएकी छन् ।


प्रतिक्रिया दिनुहोस !