१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दोस्रो विश्व आदिवासी महिला सम्मेलन २०२१ : यस्तो रह्यो नेपालबाट सहभागी आदिवासी महिलाहरुको अनुभव



  • अनिता गुरुङ

काठमाडौँ । राज्यहरुलाई आदिवासी महिला तथा बालिकाहरुको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रहरुको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्न आह्वान गर्दै दोस्रो विश्व आदिवासी महिला सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

विश्वका सात सामाजिक–सांस्कृतिक क्षेत्रहरुबाट प्रतिनिधित्व गर्ने पाँच सय आदिवासी महिलाहरु भर्चुअल माध्यमबाट सहभागी भएको सम्मेलनले आदिवासी महिला तथा बालिकाहरुको अधिकार रक्षाका सम्बन्धमा राज्य, संयुक्त राष्ट्र संघीय निकायहरु तथा अन्य सरोकारवालाहरुलाई ११ वटा सिफारिस समेत गरेको छ ।

उक्त सम्मेलनमा सहभागी मध्येका केही नेपाली आदिवासी महिलाहरुको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

विश्वभरका आदिवासी महिलाहरुले आ–आफ्नो घर र देशबाट सहभागी हुने मञ्च पाउनु सुखद् कुरा
चिनिमाया माझी
अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ

सन् २०१३ मा भएको प्रथम विश्व आदिवासी महिला सम्मेलनमा भन्दा दोस्रो सम्मेलनमा धेरै विषयवस्तु समेटिएका छन् । कोभिडको ठुलो चुनौती हुँदाहुँदै पनि भर्चुअलमार्फत सफलतापूर्वक मूल कार्यक्रम तथा साइड इभेन्टहरू सम्पन्न भएका छन् । विश्वभरिका आदिवासी महिलाहरुले आ–आफ्नो घर र देशबाट भाग लिन, अनुभव गर्न र सिक्न पाएका छन् । भूमि, भू–क्षेत्र, प्राकृतिक स्रोत, सिड, अपाङ्गताका मुद्दाहरूमा नेपालबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, सिड समिति र आदिवासी महिलाका संस्थाहरूले प्रस्तुति गर्दा विभिन्न देशका आदिवासी महिलाको उत्साहपूर्ण सहभागीताले हामीलाईउर्जा मिलेको छ। सुरुमा प्राविधिक कठिनाई भए पनि पछि राम्रो हुँदै धेरै सहभागीलाई सम्मिलित हुने ‘प्लेटफर्म’ पाउनु सुखद् कुरा हो ।

विश्वभरका आदिवासी महिला तथा बालिकाहरुका अवस्था, स्थिति र मुद्दाहरुका बारेमा एकआपसमा आदानप्रदान गर्ने तथा सिक्ने एउटा विशाल मञ्च
यशोकान्ति भट्टचन
उपाध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च

म सन् २०१३ मा पेरुमा आयोजना गरिएको आदिवासी महिलाहरुको पहिलो विश्व सम्मेलनमा पनि सहभागी भएको थिएँ । र यसपटक ‘भर्चुअल प्लेटफर्म’ भएको दोस्रो सम्मेलनमा पनि भाग लिन पाउँदा खुसी लागेको छ । यो साँच्चै नै विश्वका आदिवासी महिलाहरुका लागि एउटा विशाल मञ्च हो जहाँबाट हामीले विश्वभरका आदिवासी महिला तथा बालिकाहरुका अवस्था, स्थिति र मुद्दाहरुका बारेमा एकआपसमा आदानप्रदान गर्ने तथा सिक्ने मौका मिल्द छ ।

नेपालले आयोजना गरेको अन्तरक्रियात्मक सत्रहरुमा जमिन, भूक्षेत्र र स्रोतहरु तथा जलवायु परिवर्तन शिर्षक सत्रमा मलाई सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर मिल्योभने सिड (CEDAW) को कार्यान्वयन सम्बन्धिएक अर्को सत्रमा CEDAW कार्यान्वयनका चुनौतीहरुका बारेमा वक्ताका रुपमा प्रस्तुति गर्ने अवसर मिल्यो । हाम्रा सामूहिक प्रयासहरुद्वारा आदिवासी महिलाहरु र बालिकाहरुको सवालहरु उजागर गरिनुमा यो दोस्रो विश्व सम्मेलनको ठुलो महत्व छ । राज्यसरकारहरु र निजी व्यापारिक कम्पनीहरुले आत्म–निर्णय, स्वायत्तता, स्व–शासन प्रणाली, FPIC, तथा आदिवासी ज्ञान, सीप, प्रविधि र अभ्यासहरुलाई सम्मान गर्नु पर्दछ । हामी आदिवासी महिलाहरु र बालिकाहरु पछाडि छोडिनुहुन्न, र हामी जलवायु परिवर्तनका लागि समाधान हौँ, समस्या होइनौँ ।

विश्वका आदिवासी महिलाहरुका संघर्ष र उनीहरुले तथा हासिल गरेका कथाहरु एकआपसमा बाँड्ने र उनीहरुका प्राथमिकता तथा मागहरु निर्धारण गर्ने एकमात्र विश्वमञ्च
चन्दा थापा मगर
आदिवासी विज्ञ

आदिवासी महिलाहरुको विश्व सम्मेलन आदिवासी महिला नेताहरु, कार्यकर्ताहरु, अभियन्ताहरु, र मानव अधिकारकर्मीहरुका लागि एकमात्र विश्वमञ्च हो जहाँ उनीहरुले आफ्ना संघर्षका कथाहरु तथा हासिल गरेका सफलताहरु एकआपसमा बाँड्छन् र उनीहरुका प्राथमिकता तथा मागहरु निर्धारण गर्छन् । उनीहरुले अपनाएको विश्व राजनीतिक घोषणापत्र तथा एजेन्डाले आदिवासी महिलाहरुलगायत राज्य र अन्य सरोकारवालाहरुका लागि अन्तर्राष्ट्रिय प्रक्रिया र संयन्त्रको सबै तहमा समान, सार्थक र प्रभावकारी सहभागिता सुनिश्चित गर्न ‘हामी बिना हाम्रो बारेमा केही छैन’ भन्ने सिद्धान्त सम्मत रही सबै मामिलाका निर्णय प्रक्रियाबारे स्पष्ट मार्गचित्र प्रदान गर्दछ। म यस प्रक्रियाको एक हिस्सा बन्न पाउँदा गौरवान्वित छु जसबाट मलाई संलग्न हुने, योगदान गर्ने र आदिवासी महिलाहरुको विश्वव्यापी आन्दोलनसँग जोडिन पाउने अवसर मिल्यो।

संसारभरिका आदिवासी महिलाहरूको दोस्रो विश्वसम्मेलनमा सहभागी हुन पाउँदा धेरै उत्साह र ऊर्जा थपेको छ
लक्ष्मीशोभा शाक्य
राष्ट्रिय संयोजक,
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ

संसारभरिका आदिवासी महिलाहरूको दोस्रो विश्व सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । मैले जीवनमा पहिलोपटक विश्व महिला सम्मेलनमा भाग लिने मौका पाएको छु र यसबाट धेरैउत्साह र ऊर्जा थपेको महसुस भएको छ। सम्मेलनले आ–आफ्ना देशका आदिवासी महिलाका विविध मुद्दाहरूलाई प्रस्तुत र छलफल, गर्ने अवसर दिएको छ। यसका साथै संसारका विभिन्न आदिवासीहरूको संस्कृति, संस्कार, बाजा, गीत, प्रार्थना, प्रस्तुति, पहिरन, गहना आदिबारे जान्ने र हेर्ने अवसर मिल्यो । नेपालको आदिवासी महिलाहरुको स्थितिबारे अरु देशकालाई समेत सुनाउन पाएकाले खुसी लागेको छ भने नेपालले आयोजना गरेका अन्तरक्रियात्मक सत्रहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न आयोगका प्रतिनिधिज्यूहरूको प्रस्तुति तथा प्रतिबद्धताले गर्वको महसुस गरेको छु।

दोस्रो विश्व आदिवासी महिला सम्मेलन आदिवासी अपङ्गता भएका महिलाहरुका लागि ऐतिहासिक सम्मेलन
अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला महासंघ, नेपाल

दोस्रो विश्व आदिवासी महिला सम्मेलन आदिवासी अपङ्गता भएका महिलाहरुका लागि ऐतिहासिक सम्मेलन साबित भएको छ। जसले पहिलोपटक अपङ्गता भएका महिलाहरूको अपाङ्गता समावेशीकरण, सहभागिता र सहकार्य गरेको छ भने पहिलोपटक सवालगत रूपले उठाउन सफल भएको छ। दोस्रो विश्व आदिवासी महिला सम्मेलनमा अर्थपूर्ण सहभागिता, अन्तरक्षेदिय विभेद, अपाङ्गता भएका महिलाहरुको अवरोध, शिक्षा, स्वास्थ्य, सेवा, सुविधा र बनेका कानुनहरुको कार्यान्वयन नभएको कुरामा बहस गरेको छ। सम्मेलनमा अपङ्गता भएका महिलाको सवाल, प्राथमिकताको आधारमा दिनुपर्ने सुविधा र हिंसा विभेदको आधारमा समावेशी हुनुपर्छ भन्ने स्पष्टसाथ उल्लेख गरेको हुँदा यसले आगामी दिनका लागि रोडम्याप खाका तयार गर्नुका साथै ती खाकाले अपाङ्गता भएका महिलासँगको सहकार्य, समन्वय र सहभागिताको कुरा उल्लेख गरेको हुँदा यो हाम्रो लागि कोसेढुंगा बनेको छ।

विविध क्षेत्रका आदिवासी महिलाको बारेमा अझ बढी बुझ्ने र आदिवासी महिलाका मुद्दामा अझ सशक्त ढङ्गबाट अगाडि बढ्न हौसला प्रदान गरेको छ ।
ऋतु थापामगर
कोषाध्यक्ष, आदिवासी महिला कानुनी सचेतना समूह

दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलनमा भर्चुअल रुपमा नेपालबाट पहिलोपटक धेरै आदिवासी जनजाति महिलाहरुले प्रत्यक्ष सहभागी हुने अवसर पाए । नेपाल सरकार, युएन सिड कमिटिका सदस्य तथा आदिवासी अभियन्ताहरुसँग विशुद्धरुपमा आदिवासी जनजाति महिलाका सवाल तथा नेपाल सरकार तथा युएन सिड कमिटिद्वारा भएका प्रयासहरुको बारेमा बुझ्ने साथै अन्तरक्रिया सत्रमा सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर मिल्यो। यसबाट विविध क्षेत्रका आदिवासी महिलाको बारेमा अझ बढी बुझ्ने र आदिवासी महिलाका मुद्दामा अझ सशक्त ढङ्गबाट अगाडि बढ्न हौसला प्रदान गरेको छ । विश्वमा कोही पनि आदिवासी महिला विकासका प्रकृयामा नछुटुन् भन्न चाहन्छु।

-नागरिकखबर डट कमबाट


प्रतिक्रिया दिनुहोस !