७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

गृहजिल्ला अछाममा भीम रावललाई झट्का, ९ नेताले छाडे साथ



प्रमुख प्रतिपक्ष नेकपा (एमाले) फुट्दा उपाध्यक्ष डा. भीम रावललाई गृहजिल्ला अछाममा धक्का लागेको छ। नेकपा (एमाले)को तत्कालीन गुटबन्दीमा माधव नेपाल समूहमा सक्रिय रावलले विभाजनमा नेपालको साथ छोड्दा उनलाई गृह जिल्लामै धक्का लागेको हो। नेपालले एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि रावलले नेपालको साथ छोडेका थिए।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रावलले राष्ट्रियताका सवालमा प्रखर विचार प्रस्तुत गरेर राष्ट्रिय राजनीतिमा राम्रो छवि कमाएका छन्। सुदूरपश्चिमको राजनीतिमा पनि रावलको राम्रै दबदबा छ। तर एमाले फुटले रावलको शक्ति क्षयिकरण भएको छ।

एमाले फुटमा नेपाल समूहको साथ छोडेर एमालेमै रहेका रावलले आफू निकट नेताहरुलाई विभाजनमा जानबाट रोक्न सकेनन्।

रावल आफ्नै निर्वाचन क्षेत्रमा एक्लिएका छन्। उनकै निर्वाचन क्षेत्रका ५ नेताले एमाले छोडेका छन्। राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, प्रदेश सांसद मिना कुमारी साउँद, साँफेबगर नगरपालिकाका इन्चार्ज सिलोज कुँवर, मेयर कुल बहादुर कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद भीम रावललाई छोडेर एकीकृत समाजवादीमा लागेका छन्।

रावलका विश्वास पात्रहरू उनको साथ छोडेर एकीकृत समाजवादी रोज्न थालेपछि उनको शक्ति कमजोर हुँदै गएको एमालेका एक नेताले बताए।

‘संसदको ठूलो शक्तिको फुटले दुवै पक्षलाई क्षति त भएको नै छ। विशेषगरी सुदूरपश्चिममा भीम रावलको राम्रै पकड थियो’ ती नेताले भने, ‘तर विभाजनमा उहाँ (रावल)ले यो पकड जोगाउन नसकेको देखिन्छ। उहाँ विगत भन्दा निकै कमजोर हुनु भएको छ।’​

रावल तत्कालीन नेकपा हुँदा केपी शर्मा ओली विरुद्धको मोर्चाबन्दीमा नेपालको पक्षमा थिए। नेकपा हुँदा नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) सँग मिलेर रावल लामो समय ओली विरुद्ध मोर्चाबन्दीमा सक्रिय भए।

त्यसपछि सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकीकरण बदर गर्दै पूर्ववत् अवस्थामा फर्काएपछि पनि ओलीविरुद्ध नेपालसँगै रावल लागिरहे।

सुरुवातदेखि नै ओलीका कटु आलोचक थिए, रावल। तर ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिँदा भने उनी माधव नेपालसँग टाढिदै गए। नेपाल समूहका अधिकांश सांसदले देउवालाई विश्वासको मत दिएकै दिन रावलले भने सांसद पदबाट राजीनामा दिने घोषणा नै गरेको थिए। यद्यपी पछि सो निर्णय उनले फिर्ता लिएका थिए।

एमालेमा सिर्जित विवाद समाधान गर्न गठित एकता कार्यदलमा नेपाल समूहको तर्फबाट रावल संयोजक थिए। नेपालका विश्वास पात्र मानिएका उनै रावलले नयाँ पार्टी गठनमा नेपाललाई साथ दिएनन्। एमाले स्थायी कमिटी बैठकले २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किने निर्णय गरेपछि रावलसहित नेपाल समूहमा सक्रिय १० नेता एमालेमै रहेका थिए।

लामो समयदेखिको माधव कुमार नेपालसँगको सहकार्य तोडेकोले आफूहरुले पनि रावलको साथ छोडेको अछामका प्रदेश सांसद बलबहादुर सोडारी बताउँछन्।

‘सुरुमा केपी ओली प्रतिगमनकारी हुन भनेर आफ्नै अध्यक्ष विरुद्ध विरोध गर्न लगाए। समानान्तर कमिटी बनाए। कार्यकर्तालाई लडाए’ उनले भने, ‘तर विभाजनमा उहाँ (रावल)ले माधव कमरेडको साथ छोड्नु भयो, यति गरिसके पछि हामी पनि किन उहाँको पछि लाग्ने भनेर साथ छोडेका हौँ।’

अछाममा एमालेका ६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा गएका छन्।

स्थानीय तह

अछामका दुई स्थानीय तहका प्रमुखले एमाले छोडेका छन्। भीम रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले एमाले छोडेका हुन्।

अछाममा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा १० वटा स्थानीय तह छन्। तीमध्ये दुई नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष जितेको थियो।

सदरमुकामको स्थानीय तह मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहरा, उपमेयर सरिता उपाध्याय र साँफेबगर नगरपालिकाकी उपमेयर बिर्मला देवी बुडथापा एमालेमै छन्।

प्रदेश

अछामका तीन जना प्रदेश सांसदले रावलको साथ छोडेका छन्। सुदूरपश्चिम प्रदेश सभामा अछामबाट समानुपातिक सहित एमालेका चार जना सांसद छन्।

यहाँ चार वटा प्रदेश निर्वाचन क्षेत्र छन्। तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ (क) मा एमालेबाट हर्क बहादुर कुँवर (गोविन्द), निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट बल बहादुर सोडारी विजयी भएका थिए। एमालेबाट विजयी सोडारी एकीकृत समाजवादीमा गएका छन्।

यस्तै समानुपातिक सांसद दुर्गा कुमारी कामी र मिना कुमारी साउद एकीकृत समाजवादीमा खुलेका छन्।

संघीय सांसद

अछामबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेर बहादुर कुँवरले एमाले छोडेका छन्। उनी अछाममा भीम रावलको विश्वासपात्र मानिन्छन्। सुरुवातदेखि रावलसँगै रहेका कुँवरले पार्टी विभाजनमा भने उनको साथ छोडेका छन्।

उनी एमाले अछामको अध्यक्ष पनि हुन्। उनको पक्षमा अछाममा बलियो जनाधार रहेको मानिन्छ। रावलको साथमा लागेको भन्दै ओली समूहले गत चैत्रमा कुँवरलाई अध्यक्षबाट हटाएको थियो।
पछि रावलले माधव समूहको समानान्तर कमिटी गठन गर्दा कुँवरलाई अध्यक्ष बनाएको थियो।

अछाममा दुई निर्वाचन क्षेत्र छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट रावल विजयी भएका थिए भने २ बाट यज्ञ बोगटीले जितेका थिए। दुवै जना अहिले एमालेमै छन्।

अरु क-कस्ले छोडे रावलकाे साथ?

रावलले गठन गरेको समानान्तर कमिटीका उपाध्यक्ष हिर्णय भट्टराई, कार्यालय सचिव नवराज न्यौपानेले पनि एमाले छोडेका छन्। अछाममा एकीकृत समाजवादी एमाले भन्दा बलियो पार्टी बन्ने एक नेताको दाबी छ।

‘अहिले हामीसँग आउने नेता-कार्यकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ’ ती नेताले भने, ‘हामी एमाले भन्दा बलियो पार्टी बनाउँछौँ।’

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म पार्टी रोज्ने समय दिएको छ।

-नेपालखबरबाट


प्रतिक्रिया दिनुहोस !