१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

देउवाको गृहजिल्लामा भाँडभैलाे: एक पक्ष अधिवेशन गर्दै, अर्काेकाे विराेध



प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उत्पन्न विवाद चर्किँदै गएको छ।

क्रियाशील सदस्यता नवीकरण र वितरणमा गरिएको धाँधलीबाट सुरु भएको विवाद अधिवेशन आयोजना गर्नेदेखि बहिष्कार गर्नेसम्म चुलिएको छ।

जिल्ला कार्यसमितिले यथास्थितिमा गाउँपालिका/नगरपालिका वडा अधिवेशन आयोजना गर्न नसकिने निर्णय गरेको छ भने निर्वाचन समितिले वडा अधिवेशनको कार्यतालिका प्रकाशित गरेको छ।

डडेल्धुरामा सदस्यतासम्बन्धी विवादबारे छलफल गर्न मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले सदस्यता विवाद समाधान नभएसम्म अधिवेशनको प्रक्रिया सुरु गर्न नसकिने निर्णय गरेको छ।

जिल्ला सभापति कर्णबहादुर मल्लले नेपालखबरसँग यथास्थितिमा अधिवेशन प्रक्रिया सुरु गर्न नसकिने निर्णय गरिएको जानकारी दिए।

मल्लको सभापतित्वमा बसेको बैठकले बहुमतीय प्रक्रियामा गएर उक्त निर्णय गरेपछि सभापति देउवानिकट समूहले वडा अधिवेशनको कार्यतालिका प्रकाशित गरेको छ।

केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले भदौ २५ गते गाउँपालिका/नगरपालिका वडा अधिवेशन गरिने तालिका प्रकाशित गरेका छन्।

उक्त तालिका प्रति जिल्ला सभापति मल्लले आपत्ति जनाए।

‘छलफलका लागि निर्वाचन अधिकृतलाई बोलाएका थियौँ। उहाँ बैठकमा एकलौटी रुपमा निर्देशित ढंगले प्रस्तुत हुनुभयो’, उनले भने, ‘उहाँ (सभापति देउवा निकट)हरु बैठकबाट उठेर जानुभयो। एकलौटी अधिवेशनको मिति तोक्नुभयो। यो आपत्तिजनक छ।’

जिल्ला सभापति मल्लले डडेल्धुरामा देखिएको विवाद यथाशीघ्र समाधान गरेर अधिवेशनको वातावरण निर्माण गर्न केन्द्रीय नेतृत्वसँग आग्रहसमेत गरे।

‘आदरणीय सभापतिज्यूसँग विवाद यथाशीघ्र समाधान गरेर अधिवेशनको वातावरण निर्माण गर्न आग्रह गर्दछौँ’, उनले भने, ‘बल प्रयोग गरेर एकलौटी ढंगले अधिवेशन गर्न खोज्नुभएको हो भने यो उहाँ र कांग्रेसका लागि दुर्भाग्य हुनेछ।’

डडेल्धुरामा सात स्थानीय तहमध्ये पाँच स्थानीय तहका पार्टी संरचना र ५२ मध्ये तीन दर्जन बढी वडा कार्यसमितिहरुले पनि क्रियाशील सदस्यता विवाद समाधान गरेरमात्रै अधिवेशन प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेको मल्लले बताए।

डडेल्धुराका दुई स्थानीय तहका पार्टीका सभापति र एक दर्जन बढी सभापतिमात्रै जिल्ला सभापति मल्लको इतरमा देखिँदै आएका छन्। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले डडेल्धुराका जिल्ला सभापतिकी आमादेखि वडा सभापतिसम्मका नेता–कार्यकर्ताहरुको सदस्यता खारेज गरेको छ। -साभार- नेपालखबर


प्रतिक्रिया दिनुहोस !