१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेमै फर्किएका नेताहरुलाई अध्यक्ष ओलीको दनक, १० बुँदे सहमति लागु हुँदैन



पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २ भनेको श्राद्धमा बिरालो बाँधे जस्तो नभएको बताएका छन् । माधवकुमार नेपाल समूह छाडेर एमालेमा बसेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला ओलीले भने जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको बताएका हुन् ।

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली भने, ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे ।’ पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो ।

माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

१० बुँदेबारे ओलीको धारणा

१० बुँदे भन्ने छ अहिले । १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन । त्यसकारण १० बुँदे के जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् न । त्यही हो १० बुँदे । जेठ २ गते भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको २०७५ साल कहाँबाट फर्किन्छ जस्ताको तस्तै त फर्किँदै फर्किँदैन नि ।

नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी सर्लक्क अलग भएको होइन, त्यो कानुनी कुुरा हो । हामीले पार्टी एकीकरण गरेका थियौं २०७५ जेठ ३ गते । त्यो एकीकरण कायमै छ । प्रचण्ड गुट अलग भएर गयो, माओवादी केन्द्रबाट आउनुभएका थुप्रै साथीहरु अहिले पनि यसै पार्टीमा हुनुहुन्छ ।

यो पार्टीको अहिलेको नाम नेकपा एमालेको हो । यो हिजोको नेकपाको पनि निरन्तरता हो, एकीकणको पनि निरन्तरता हो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, सजिलोसँग कामलाई अगाडि बढाउनुस् । कुनै पनि कारणले तनावग्रस्त नहुनुस्, असहज मनका साथ नचल्नुस् । कतिपय ठाउँमा विनासित्ति जेठ २ भनेर ‘ जेठ २ भनेको श्राद्धमा विरालो बाँधे जस्तो होइन ।

यो त पार्टीलाई गतिशील बनाउन र समस्या देखा परे भने समस्या समाधान गर्न हो । यो कुनै पार्टीसँग गरिएको सम्झौता होइन । हामीले माधव नेपाललाई पनि फुट्न नदिने भनेर बनाइएको कार्यदल थियो । त्यो क्षति रोक्न बनाइएको थियो । माधव नेपालले अस्वीकार गरे ।


प्रतिक्रिया दिनुहोस !