१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मूल्य बढाउन उत्पादन रोक्दा बजारमा सिटामोल अभाव



काठमाडौं । ज्वरोका विरामीका साथै दुखाइ कम गर्न प्रयोग गरिने औषधि पारा सिटामोल अभाव हुन थालेको छ ।

कच्चा पदार्थको भाउ बढेको भन्दै औषधि उत्पादकहरुले मूल्य झण्डै दोब्बर बनाउन माग गरेका छन् । तर सरकारले कोरोना महामारीको समयमा मूल्य बढाउन नसक्ने बताएपछि थुप्रै कम्पनीले उत्पादन नै रोकेका छन् ।

बजारमा पनि माग बढेकाले बजारमा पारासिटामोलको अभाव हुन थालेको औषधि व्यवस्था विभागले स्वीकार गरेको छ । ‘चरम अभावकै अवस्था त होइन, तर उत्पादन र वितरणमा सन्तुलन नमिलेका कारण केही असहज अवस्था आएको छ’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने ।

किन भयो अभाव ?

सरकारले २०६४ सालमा पारासिटामोल अधिकतम मूल्य प्रतिगोटा १ रुपैयाँ निर्धारण गरेको थियो । त्यसयता मूल्य समायोजन भएको छैन । कच्चा पदार्थको मुल्य बढेकाले यो मूल्यमा बेच्न नसक्ने औषधि उत्पादकहरु बताउँछन् ।

तर कोभिड महामारीको समयमा मूल्य बढाउन सरकार तयार छैन । ‘कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै औषधि उत्पादक कम्पनीहरुले मूल्य समायोजन हुनुपर्ने माग राखेका छन् । तर यो महामारीको अवस्थामा मूल्य वृद्धि गर्न सक्ने अवस्था छैन’ सूचना अधिकारी केसीले भने ।

यद्यपि अनुकूल समयमा यो विषयमा अध्ययन गर्ने औषधि व्यवस्था विभागले बताएको छ ।

सरकार मूल्य बढाउन तयार नभएपछि औषधि उत्पादक कम्पनीहरुले उत्पादन कटौती गरेका छन् । औषधि उत्पादक कम्पनी संघका अध्यक्ष नारायणबहादुर क्षेत्रीका अनुसार नेपालमा २५/२६ वटा औषधि उत्पादक कम्पनीले पारासिटामोल उत्पादन गर्दै आएका थिए । अहिले २/४ वटा कम्पनीले मात्रै उत्पादन गरिरहेको छ ।

‘एकातिर कम्पनीहरुले उत्पादन गर्न छाडेका छन् भने अर्कोतिर माग पनि बढेको छ, यसले गर्दा बजारमा सिटामोलको अभाव देखिएको हो’ क्षेत्री भन्छन् ।

प्रतिगोटा १ रुपैयाँ ७० पैसा पुर्‍याउन माग

औषधि उत्पादक संघका अध्यक्ष क्षेत्रीका अनुसार पारासिटामोलको मूल्य समायोजनबारे जेठको पहिलो हप्ता सरोकार पक्षबीच छलफल भएको थियो ।

औषधि व्यवस्था विभाग, नेपाल औषधि आयातकर्ता संघ लगायतको उपस्थितिमा भएको छलफलमा औषधि उत्पादक कम्पनीहरुले सिटामोलको मूल्य प्रतिगोटा १ रुपैयाँ ७० पैसा पुर्‍याउनुपर्ने प्रस्ताव गरेका थिए ।

तर मूल्य समायोजनका लागि सरकारले अहिलेसम्म चासो नदेखाएको अध्यक्ष क्षेत्रीले बताए । ‘सरकारले १४ वर्षअघि तोकेको मूल्य नै अहिलेसम्म लागू भइरहेको छ,’ संघका अध्यक्ष क्षेत्रीले भने, ‘कच्चा पदार्थ तीन–चार गुणाले बढेको हुनाले सरकारले तोकेको मूल्यमा बेच्दा लागत पनि उठ्दैन । तर पनि केही कम्पनीले कोरोना महामारीको अवस्थालाई हेरेर सेवा भावको रुपमा उत्पादन गरिरहेका छन् ।’

तर महँगोमा कच्चा पदार्थ किनेर सस्तोमा पारासिटामोल बेच्‍न कुनै पनि कम्पनी तयार नहुने उनले बताए । अघि भने, ‘प्रतिगोटा सिटामोल उत्पादन गर्न डेढ रुपैयाँभन्दा बढी लागत लाग्छ । घाटा खाएर एक रुपैयाँमा कसरी बेच्न सक्छौं ?’ -अनलाइनखबर


प्रतिक्रिया दिनुहोस !