दार्चुला । गत साउन १५ गत्ते भारतीय एसएसबीले तुईन काट्दा जय सिंह धामी बेपत्ता भएको ठाउँ (नेपाल भारत सीमा) मा एक युवक महाकाली नदीको तुईन चढिरहेको भिडियो सामाजिक संजालमा भाईरल भईरहेको छ । सो भिडियो फुटेज दार्चुला जिल्ला ब्याँस गाउँपालिका वडा न. १ (लिपुलेक, लिम्पियाधुराको छेउ) छाङुरु र टिंकरका जनतालाई कोभिड १९ को खोप लगाउन भारतको बाटो हुँदै नेपाल पुग्न तुईन चढिरहेका दुहूँ गाउँपालिका हिकिला स्थायी घर भएका जनम बडाल हो । स्वास्थ्य सेवाका कर्मचारी जनम बडालले नेपालको बाटो पहिरोले अवरुद्ध भएपछि भारतको बाटो हुँदै महाकाली नदी तरेर असार १ गते छाङुरु र टिंकरका जनतालाइ स्वाब संकलन गर्नुका साथै खोप लगाएर घर फर्किएका थिए । जयसिंह धामीलाई भारतीय एसएसबीले तुईन काटिदिएर महाकालीमा खसालेको थियो ।
अपराधिक मानसिकताका भारतीय एसएसबीले देखेको भए स्वास्थ्यकर्मी जनम बडाललाई पनि खसाल्दो हो तर भाग्यले उनी बचे भन्दा पनि फरक नपर्ला । त्यती मात्रै होईन, तुईन चढेर महाकाली तर्दा एसएसबीको ज्यादती मात्रै नभई डोरी चुडिने पनि त्यतिक्कै खतरा हुन्छ । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले देश भरीका सबै तुईन विस्तापित गरेर पुल बनाउने घोषणा गरे पनि उनको तुईन विस्तापित गर्ने घोषणा एका देशको कथा बन्यो । आफ्नो ज्यान हत्केलामा राखेर जोखिमपूर्ण तुईन तर्दै दार्चुला ब्यास गाउँपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी जनम बडालले आफ्नो कर्तव्य पूरा गरे । उनले गरेको योगदानको सिंह दरबारले सुन्ने कुरै थिएन ।
देशका हजारौँ निजामती कर्मचारीहरु दूर दराजमा गएर जनसेवा गरिरहेका छन् तर उनीहरको नाम देशका उत्कृष्ट कर्मचारीको लिस्टमा कहिल्यै परेन । त्यसै सन्दर्भमा केही दिन अघि उत्कृष्ट काम गर्ने निजामती कर्मचारी भेटिएनन् भन्ने शीर्षकमा एक अनलाइनले समाचार प्रकाशित गर्यो । समाचार हेर्दा लाग्थ्यो, नेपालका कर्मचारीहरु सेवा सुविधाको तुलनामा अपेक्षित रुपमा काम गर्दैनन् अर्थात् निजामती कर्मचारीहरु आफ्नो कर्तव्य पूरा गर्दैनन् । सधै आलटाल गर्छन् । पछाडीको ढोका (बार्दली) बाट लुकेर भाग्छन् । झुट बोल्छन् । जाली रिपोर्ट तयार पार्छन् । द्रव्य प्राप्त हुने विविध छिद्रको खोजीमा डुलिरहन्छन् । घुस खान्छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारलाई झुटो रिपोर्ट तयार पारेर भ्रममा पार्छन् इत्यादी ।
सो समाचार प्रकाशित भएको अर्को दिन अर्थात् भाद्र २१ गते समाचार माध्यमहरुमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय भन्ने शीर्षकमा समाचार प्रकाशित भयो । त्यसको अर्को दिन भाद्र २२ गते निजामती दिवसका अवसरमा ४० जना कर्मचारीको नाम सार्वजनिक गरियो तर उर्लदो महाकाली नदी माथि आफ्नो ज्यानको बाजी लगाएर तुईन तरी दार्चुलास्थित लिपुलेक लिम्पियाधुरा छेउका जनतालाई कोभिड खोप लगाउने जनम बडालको उत्कृष्ट कर्मचारीको लिस्टमा नाम नै थिएन । सायद उनले त्यो कल्पना पनि गरेका थिएनन् र त्यो संभव पनि थिएन, किनभने केन्द्रीकृत सामन्ती व्यवस्थाको सामन्ती सँस्कार नेपाली समाजबाट हट्न सकेको छैन । स्वभाविक रुपमा त्यसको प्रभाव मन्त्रिपरिषद्ले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णयमा पनि सपाट रुपमा देखा पर्यो ।
उत्कृष्ट कर्मचारीहरु त सिंहदरबार वरिपरीबाट मात्र संभव हुन्छ, देशको दूर दराजबाट होईन भन्ने जनम बडालहरुलाई थाहा थियो वा थिएन । जे भएपनि ज्यान हत्केलामा राखेर जनतालाई खोप लगाउन जोखिमपूर्ण तुईन तरेर आफ्नो कर्तव्य पूरा गर्ने जनम बडाल त एक प्रतिनिधि पात्र मा हुन् । यस्तै निस्वार्थले आफ्नो जिम्मेवारी बहन गर्ने दूरदराजका कर्मचारीको न सरकारले सच्चा मुल्यांकन गर्न खोज्छ नत कर्मचारी तन्त्रको उपल्लो तहका नेतृत्वहरुले नै ।