१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कुरूप बन्दै वाग्मती, ‘ब्युटिफिकेसन’का नाममा सकियो डेढ अर्ब



काठमाडौं । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदी ‘ब्युटिफिकेसन’को काम थालेको करिब पाँच वर्ष भयो । यो अवधिमा वाग्मतीको स्वरूप फेरिनुपर्नेमा झन्–झन् बिग्रिँदै गएको देखिन्छ ।

वाग्मती किनारा सुन्दर र हरियाली हुनुपर्नेमा काठमाडौंको फोहोर थुपार्ने ‘डम्पिङ साइट’ बनेको छ । समितिले ब्युटिफिकेसनको काम समयमै नसकाउँदा र जिम्मेवार नबन्दा वाग्मती थप कुरूप बनेको अभियन्ताहरूले बताउँदै आएका छन् ।

वाग्मती सफाइ अभियन्ता भगवान् पुडासैनी समिति गैरजिम्मेवार बन्दा वाग्मतीको सौन्दर्य हराउँदै गएको बताउँछन् । ‘‘समितिले वाग्मती ब्युटिफिकेसनका नामका अर्बौँ रुपैयाँ खर्च गरिसक्यो । तर, परिणाम शून्य छ । वाग्मतीको अहिलेको अवस्था हेर्ने हो भने काठमाडौंको फोहोर फाल्ने डम्पिङ साइटजस्तै भएको छ,” उनले भने, ‘‘वाग्मती किनाराभरि काठमाडौं महानगरपालिकाले फोहोर जम्मा गरेर राखेको छ । कहिले फोहोर उठाउने हो, थाहा छैन । यसमा समितिले पनि बेवास्ता गरिरहेको छ । समितिले बेलैमा ब्युटिफिकेसनको काम सकाएको भए वाग्मती सुन्दर बन्दै जान्थ्यो ।”

अभियन्ताले प्रत्येक शनिबार नदी किनारा, नदीभित्रको फोहोर संकलन र व्यवस्थापन गर्दै आएका छन् । पुडासैनीका अनुसार ब्युटिफिकेसनका लागि वाग्मती किनारामा लगाइएका पर्खालहरू ढलिसकेका छन ।

उनका अनुसार ब्युटिफिकेसनका लागि राखिएका फलामका संरचनाहरू खिया लागेर भत्किएका छन् । ‘‘ती संरचनाहरू पुनः प्रयोगमा नआउने अवस्थामा छन् । नदी किनारामा अव्यवस्थित तरिकाले फोहोर थुपारिएको छ । ढल व्यवस्थापनका नाममा सबै किसिमका ढलहरू यसै वाग्मतीमै मिसाइएका छन्,” पुडासैनीले भने ।

दुई वर्षअघि नै सकियो ठेक्का सम्झौता, काम भएन

सम्झौताबमोजिम ब्युटिफिकेसनको काम दुई वर्षअघि नै सकिनुपर्ने थियो । तर, मिति गुज्रियो । काम सकिएन । सिनामंगलदेखि गोकर्णेश्वरसम्म खोला किनाराको १४ किलोमिटर ब्युटिफिकेसन गर्नुपर्ने थियो ।

उक्त ब्युटिफिकेसनका लागि ०७३ मंसिर १ गते कालिका रमन लामा संयुक्त उपक्रम जेभी र समितिबीच करिब दुई अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताबमोजिम काम सम्पन्न गर्नुपर्ने समय दुई वर्षअघि नै सकिइसकेको छ । निर्माण कम्पनीले ०७५ माघ १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

खोलाका दुवैतर्फ पर्खाल, सोलार बत्ती जडान, गोकर्णमा किरियापुत्री भवन, दुईवटा शौचालय, ११ वटा बाँध, फुटपाथमा ढुंगा बिछ्याउने, दुबो हाल्ने, साइकल ट्रयाक बनाइने भनिएको थियो । तर, ती काम अलपत्र परेको छ । पुराना बनाइएका संरचनाहरू भत्कँदै जाने र वाग्मती कुरूप बन्ने क्रम बढ्दो देखिन्छ ।

समितिका प्रवक्ता कमल अर्याल लामो समय स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताउँछन् । ‘‘पहिला स्थानीयले बनाएका संरचना पनि भत्काए । खोला बगेको ठाउँको मुआब्जा मागे । काममा पटक–पटक अवरोध गरेका कारण ठेकेदार कम्पनीले पनि काम गर्न मानेन । यद्यपि, अहिले करिब–करिब सबै विवाद मिलिसकेको छ । अब के गर्ने भन्नेबारे छलफल चलिरहेको छ,” उनले भने, ‘‘ठेकेदार कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै ठेक्का रद्द गर्न माग गरेको थियो । उक्त ठेक्का अहिले रद्द भएको छैन । ठेकेदार कम्पनीलाई काम गर्ने वातावरण मिलाउने कि भन्नेछ । छलफलपछि छिट्टै ब्युटिफिकेसनको ठेक्का प्रक्रिया अघि बढाउने योजना छ ।”

समितिका अनुसार छिट्टै ठेक्का सम्झौताको टुंगो लगाएर फोहोर व्यवस्थापन, ब्युटिफिकेसनको काम अघि बढाइनेछ । अहिलेसम्म ब्युटिफिकेसनको काममा डेढ अर्बभन्दा बढी रुपैयाँ खर्च भइसकेकोे छ । समितिको स्थापनाकालदेखि वाग्मती सफाइ अभियान पनि सञ्चालन गरिँदै आएको छ । -बाह्रखरीबाट


प्रतिक्रिया दिनुहोस !