१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

अनुमतिविना सरकारी रकमबाट मेयरको विदेश भ्रमण



जनकपुरधाम । धनुषाको एक स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सरकारको अनुमतिविनै सरकारी कोषबाटै विदेश भ्रमण गरेको पाइएको छ ।

शहीदनगर नगरपालिका प्रमुख उदयकुमार बरबरिया यादव र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले सरकारी कोषको रकमबाट अनुमति विना एक साता दुबई भ्रमण गरेका छन् ।

यादव र झा २०७६ साल मंसिर ११ देखि २० गतेसम्म दुबई भ्रमणमा थिए । दुबई भ्रमण गर्दा यादवले २ लाख १५ हजार ५ सय ८० र झाले १ लाख ९२ हजार १ सय ४० गरी ४ लाख ७ हजार ७ सय २० रुपैयाँ खर्च गरेका छन् ।

उक्त भ्रमणमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । ‘भ्रमण खर्च नियमावली, २०६४ को नियम ३(५) अनुसार अन्यत्र जुनसुकै कुरा लेखिएको भएपनि पदाधिकारी वा कर्मचारी विदेश भ्रमण गर्नुपर्दा नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने व्यवस्था छ’ प्रतिवेदनमा भनिएको छ, ‘भ्रमणको उद्देश्य र प्रयोजन नखुलाई काार्यालय सम्बन्धित कामकाज उल्लेख गरी गरेको भ्रमण खर्च नियमित देखिएन ।’

विदेश भ्रमण गर्नुको उद्देश्य तथा काम समेत नखुलाई नगर प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराई भ्रमण खर्च भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कानुनी सल्लाहकारलाई तलव

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐनमा पदाधिकारीका लागि सल्लाहकार तथा सहायक कर्मचारी राखी पारिश्रमिक दिने व्यवस्था छैन । तर शहीदनगर नगरपालिकाले कानुनी सल्लाहकार नियुक्त गरेर पारिश्रमिक दिएको पाइएको छ ।

कानुनी सल्लाहकारमा नियुक्त गरेका केशव यादवलाई २०७६ साउनदेखि २०७७ असारसम्म मासिक ३५ हजार ९ सय ९० का दरले चाडपर्व खर्चसमेत गरी ४ लाख ६७ हजार ८ सय ७० रुपैयाँ भुक्तानी दिइएको छ ।

कानुनमा उल्लेखित सुविधाबाहेक सल्लाहकार कर्मचारी नियुक्त गरी खर्च गर्ने कार्य नियमित नदेखिएको महालेखा परीक्षकले प्रतिवेदनमा भनेको छ ।


प्रतिक्रिया दिनुहोस !