१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

सैनिकका घर बनाउन २५ लाख सहुलियतपूर्ण ऋण : प्रधानसेनापति शर्मा



नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् । पदबहाली गरेपछि सकल दर्जालाई पहिलो सम्बोधन गर्र्दै शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई त्यस्तो सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरेका हुन् ।

‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’

अनुशासित पहलतालाई प्रोत्साहन गरिने नीति लिने बताएका शर्माले संगठनलाई सिमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने अवाञ्छित गतिविधि क्षम्य नहुने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चितता, अस्थिर र तरल तथा जटिल भएको विश्लेषण गर्दै शर्माले त्यस्तो वातावरणले सेनाको सामु चूनौति देखिएको बताएका छन् । शर्माले भने, ‘यस्तो जटिल परिस्थितिमा समेत संवैधानिक दायित्व पुरा गर्नका लागि सदैव तयार रहनु सेनाको कर्तव्य हो ।’

राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने शर्माको भनाइ छ । ‘रणनीतिक, अपरेशनल र ट्याक्टिकल तहबीच सामन्जस्यता कायम हुनेगरी ३ जोड एक कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ’ प्रधान सेनापति शर्माले भने–‘सामूहिक भावना अनुरुप कार्य गर्नैपर्छ, सामूहिकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।’

प्रधानसेनापतिमा नियुक्त हुँदा आफुलाई जिम्मेवारीबोध भएको बताएका शर्माले राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गलाई निर्धारित समयमा पुरा गर्न विशेष पहल गरिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !