१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सन्दीपले पपुवा न्यूगिनीको ब्याटिङ ध्वस्त पारेपछि १५१ विजयी बन्यो नेपाल



काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने एक्लैले छ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनीविरुद्धको क्रिकेट सिरिज जितेको छ । नेपालले पपुवा न्युगिनीलाई दोस्रो एकदिवसीय खेलमा १५१ रनले पराजित गर्दै सिरिज दुई शून्यले आफ्नो पक्षमा पारेको हो । ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गगत शुक्रबारको डे नाइट खेलमा सन्दीप लामिछानेले ५.१ ओभर बलिङ गर्दै मात्र ११ रन खर्चेर ६ विकेट लिए । यसअघि लामिछानेले सन् २०२० मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्धको खेलमा १६ रन खर्चेर छ विकेट लिएका थिए ।

नेपालले पपुवा न्यूगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गर्ने क्रममा पपुवा न्यूगिनीले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । उसका लागि टोनी उराले १९, चाल्र्स अमिनीले १६, नर्मन भानुआले १२, सेसे बाउले ११ र गाउडी टोकाले १० रन बनाए । नेपालका लागि सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासे । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान गरे भने करन केसीले २६ बलमा ४२ रन बनाए । । जसमा चार छक्का र दुई चौका सामेल थिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नर्मन भानुआले दुई/दुई तथा चाल्र्स अमिनीले एक विकेट लिए । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले पराजित गरेको थियो । नेपालले अब सोमबारदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासित त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । ओमान सिरिज आगामी असोज ४ गतेसम्म सञ्चालन हुनेछ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई÷दुई खेल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय