१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

छापामार शैलीमा बजेट ल्याइएको एमाले बैठकको ठहर



काठमाडौं । नेकपा (एमाले)ले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ । शनिबार (आज) ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको हो ।

पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको बैठकको ठहर रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । त्यस्तै अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना राखिएको भन्दै बिमति रहेको उनले जानकारी दिए ।

बैठकले संसदीय मूल्य मान्यताका आधारमा सभामुखको भूमिकाकोविरुद्ध जारी विरोधलाई संयमित र मर्यादित ढंगले अघि बढाउन निर्देशन दिएको भट्टराईले बताए ।

त्यस्तै स्थायी कमिटी बैठकले विभिन्न विषयमा शान्तिपूर्ण प्रदर्शनका क्रममा राज्यपक्षले धरपकड गर्ने काम गरेको भन्दै निन्दा गरेको छ । बैठकले विरोध प्रदर्शनमा उत्रिएकालाई पनि आफ्ना विषयवस्तुलाई मर्यादित ढंगले प्रस्तुत गर्न अपील गरेको छ ।


प्रतिक्रिया दिनुहोस !