१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

असन्तुष्ट जम्मा गरेर बलियो गुट बनाउदै देउवाका सारथी निधि



काठमाडौं । शेरबहादुर देउवापछि २०३६ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका विमलेन्द्र निधि लामो समय गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्ष, फरक पार्टी निर्माण र पार्टी एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा देउवा समूहका महत्त्वपूर्ण सारथी रहे । आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेपछि भने उनले आफ्नो अलग्गै गुट निर्माण थालेका छन् ।

देउवाबाट अलग्गिएका निधिले देउवासँग असन्तुष्ट र महाधिवेशनमा उक्त समूहबाट उम्मेदवार बन्ने सम्भावना कम भएका नेतालाई उनले आफ्नो समूहमा भित्र्याउने रणनीति बनाएका छन् । बिहीबार महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्मा त्यही रणनीतिअनुरूप निधिको टिममा पुगेका हुन् । ‘उहाँ (शर्मा) ले महामन्त्री वा सहमहामन्त्रीको सुनिश्चितता खोज्नुभएको थियो तर सभापतिले सकारात्मक संकेत दिनुभएन,’ देउवानिकट एक नेताले भने, ‘त्यसपछि उहाँले महामन्त्रीमा उम्मदेवारी घोषणा गरेर समूह परिवर्तन गर्नुभएको हो ।’ उम्मेदवारी घोषणा गर्दा स्पष्ट नखुलाएका शर्मा शुक्रबार निधिको घरमा एक धार्मिक कार्यक्रममा सहभागी भए ।

अहिले सभापति देउवा समूहलाई केन्द्रमा मात्र होइन, प्रदेश र जिल्लामा समेत नेता व्यवस्थापन गर्न चुनौती छ । नेताहरू धेरै हुँदा देउवा समूहभित्रै नेतृत्वको टकराव छ । यसको लाभ निधिले लिने आकलन गर्न थालिएको छ । सभापति देउवाको गृहजिल्ला डडेलधुरामै त्यस्तो अवस्था देखिएको छ । क्रियाशील सदस्यतालाई लिएर देउवासँग चर्को द्वन्द्व भएपछि जिल्ला सभापति कर्णबहादुर मल्ल निधिको निकट पुगेका छन् । ‘सभापतिले नै निरंकुशता लादेपछि अब उहाँसँग रहन सक्ने अवस्था करिब सकिएको छ,’ मल्लले भने, महाधिवेशनमा कुन विचार समूहसँग कसरी सहकार्य गर्ने भन्ने केही समयपछि निष्कर्षमा पुगिएला ।’

मल्लनिकटका अनुसार निधिको साथ पाएर उनले गृहजिल्लामा देउवासँग टक्कर लिने जोखिम मोलेका हुन् । पार्टीको १३ औं महाधिवेशनमा देउवाको असहयोगका बाबजुद एक भोटको अन्तरले सभापतिमा जितेका मल्लले देउवाको साथ भने छोडेका थिएनन् । यसपटक उनी खुलेरै देउवाको विरोधमा लागेका छन् । भदौ ११ मा काठमाडौंमा निधिले आफ्नो सम्पर्क कार्यालय खोल्दा मल्ल सहभागी भएका थिए । डडेलधुरामा क्रियाशील सदस्यता विवाद हुँदासमेत निधिले उनको पक्षमा दबाब दिँदै बुधबार सभापति देउवालाई पत्र लेखेका थिए ।


प्रतिक्रिया दिनुहोस !