७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउछौँ : अर्थमन्त्री



अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उहाँले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताउनुभयो । “मन्त्रालयकले अनुगमनमा तपार्इं पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदै छ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन । हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ”, उहाँले भन्नुभयो ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारको दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनको प्रभावकारिताका लागि अनुसन्धानको काममा पनि सेजनले अर्थमन्त्रालयसँग साझेदारीका काम गर्न इच्छुक रहेको बताउनुभयो । सो अवसरमा अर्थमन्त्री शर्माले खादाका साथ सेजन कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

सेजनका पूर्वअध्यक्ष भीमप्रसाद गौतमले अर्थमन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा थप समन्वयका साथ अघि बढ्न सेजन नेतृत्व तयार रहेको र मन्त्रालयका कामलाई परिणाममुखी बनाउन आर्थिक पत्रकारको भूमिका प्रभावकारी हुने विश्वास दिलाउनुभयो ।

सेजनको यही भदौ १८ गते सम्पन्न २२औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जनार्दन बराल, उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोट निर्वाचित हुनुभएको थियो । त्यसैगरी कार्यसमिति सदस्यमा राससका सीबी अधिकारी, अच्युत पुरी, अमर बडुुवाल, इशारा कोइराला र सोभित थपलिया निर्वाचित हुनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !