११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कार्यवाहक अध्यक्ष ताकेका भीम रावल प्रदेश ईञ्चार्ज पनि हुन् सकेनन्



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्न आग्रह गरेका छन्। ओली निवास बालकोटमा आइतबार भएको छलफलमा उनले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट नै कायम हुने बताए। ओलीले रावललाई पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेर सहजीकरण गर्न आग्रह गरे।

सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरू भट्ट र कर्ण थापा बालकोट पुगेका थिए। छलफलका क्रममा ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुने बताएका थिए। तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए।

गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो। १० बुँदे अनुसार, एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने रावलले अडान लिए। तर ओलीसँगै अरू नेताहरूले पनि रावल शीर्ष नेता भएकाले सुदूरपश्चिमको इन्चार्जको भूमिका भट्टलाई दिनु उपयुक्त हुने राय राखेको बैठकमा सहभागी एक नेताले बताए। ती नेताका अनुसार, ओलीले भट्ट इन्चार्ज र प्रदेश अध्यक्ष कर्ण थापा नै हुने बताए।

‘१० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको थियो । तर जाने त गई नै सके, अब मिलेर चलेको पार्टीमा समस्या ल्याउने गरी भूमिका फेरिँदैन,’ ओलीलाई उद्धृत गर्दै ती नेताले बताए। १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको भन्दै नेताहरू बालकोट पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !