१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एकीकृत समाजवादीले प्रदेश १ सरकारलाई समर्थन नदिने



विराटनगर । नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलले प्रदेश सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । एकीकृत समाजवादीले सोमबार प्रदेशसभा सचिवालयमा पत्र बुझाउँदै मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको जानकारी गराएको हो ।

एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य सावित्रा रेग्मीले सरकारलाई समर्थन नरहेको जानकारी पत्र प्रदेशसभा सचिवालयलाई बुझाएकी हुन् । एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको शनिबार बसेको बैठकले मुख्यमन्त्री आचार्यलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

यस्तै एकीकृत समाजवादीले संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरेको पत्र पनि सोमबार नै प्रदेशसभा सचिवालयलाई बुझाएको छ ।

एमाले विभाजनको एक दिनपछि गत भदौ १० गते एमाले सचिव भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । राजनीतिक रुपमा अल्पमतमा परेका बेला मुख्यमन्त्री नियुक्त भएका आचार्य सोमबारबाट वैधानिक रुपमा अल्पमतमा परेका छन् ।

प्रदेश १ मा नेकपा एमालेका ५१ सांसद थिए । पार्टी विभाजन हुँदा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् । १० सांसदले नयाँ दल रोजेपछि एमालेसँग ४१ जना सांसद छन् ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा एमालेका ४१, काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् ।


प्रतिक्रिया दिनुहोस !