१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोडमाथि



मुलुकमा ब्रोडव्यान्ड इन्टरनेट चलाउने जनसंख्या ३ करोड पुगेको छ । फिक्स लाइन र मोबाइल डेटा खपतलाई हिसाब गरेर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा ब्रोडव्यान्ड इन्टरनेट चलाउनेको संख्या निकालेको हो ।

प्राधिकरणले निकालेको एमआइएस रिपोर्टअनुसार मुलुकमा जनसंख्याभन्दा धेरैले ब्रोडव्यान्ड इन्टरनेट प्रयोग गरिरहेका छन् । गत आर्थिक वर्षको असार महिनासम्म मुलुक ब्रोडव्यान्ड इन्टरनेट चलाउनको संख्या ३ करोड ९ लाख ५४ हजार पुगेका छन् ।

प्राधिकरणको २०७७ असार महिनाको रिपोर्टअनुसार १०२ प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ ।
त्यसमध्ये मोबाइल ब्रोडव्यान्ड चलाउनेको संख्या २ करोड २९ लाख ८५ हजार रहेका छन् भने फिक्सका चलाउनेको संख्या ७९ लाख ६९ हजार रहेका छ्न । प्राधिकरणले एक ग्राहक बराबर ४.८८ जना व्यक्तिले इन्टरनेट चलाउने मान्यतका आधारमा फिक्स इन्टरनेटका ग्राहक संख्या निकाल्ने गर्छ ।

यस संख्यामा एउटै ग्राहक पनि दुुई तीन सेवा प्रदायकमा जोडिएको हुनसक्छ । जस्तो कि नेपाल टेलिकमको डेटा चलाउनेले एनसेलेको पनि चलाएको हुनसक्छ । त्यस्तै, त्यही व्यक्तिले फिक्सलाइन पनि चलाएको हुनसक्छ । यस कारणले एउटै ग्राहक दुई, तीन ठाउँ दोहोरिन सक्ने भएकाले जनसंख्याभन्दा धेरै ब्रोडव्यान्ड इन्टरनेट चलाउनेको संख्या देखिएको हो ।

मुलुकमा पहिलो पटक सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्टअनुसार सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको हो ।

सत प्रतिशतमा ब्रोडव्यान्ड इन्टरनेट पुग्दा ७६ प्रतिशत मोबाइल ब्रोडव्यान्ड पुगेको छ भने २५.६६ प्रतिशतमा फिक्स ब्रोडव्यान्ड इन्टरनेट र ०.७० प्रतिशतमा वायरलेस फिक्स इन्टरनेट पुगेको छ ।

यी दुई प्रविधिका इन्टरनेट विस्तार हेर्दा मोबाइल ब्रोडव्यान्ड तीव्ररुपमा विस्तार भएको छ भने फिक्स इन्टरनेट विस्तार सुस्त रहेको छ ।

एक वर्षमा ब्रोडव्यान्ड इन्टरनेट विस्तार ७४.३ बाट १०२ प्रतिशत पुग्दै २८ प्रतिशतले वृद्धि भएको छ ।
२०७६ असार महिनामा मोबाइल ब्रोडव्यान्ड इन्टरनेट ५५.३० प्रतिशत रहेको थियो । एक वर्षमा मोबाइल ब्रोडव्यान्ड इन्टरनेट २१ प्रतिशतले वृद्धि भएको छ ।

फिक्स ब्रोडव्यान्ड इन्टरनेटको एक वर्षमा झन्डै ७ प्रतिशतले मात्र वृद्धि भएको छ । २०७६ असारमा १८.३५ प्रतिशत रहेको फिक्स ब्रोडव्यान्ड इन्टरनेट गएको असारमा २५ प्रतिशत पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !