Wednesday, April 30, 2025

ट्रेन्डिङ :

रोकियो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

spot_img
spot_img

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको छ । टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छन् ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको छ । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको प्यारापिट निर्माण भयो, अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर, ६ महिनाभित्र तयार गर्ने भनिएको डीपीआर समयमा तयार हुन सकेन । प्राविधिक कारणले तीन महिना परियोजना रोकिन पुग्यो । डीपीआर बन्नै ८/१० महिना लाग्यो । प्रारम्भिक चरणमा बजेट थिएन । फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढ्यो ।

२३ लाख लिटर पानी अट्ने क्षमताको ड्रेन बन्यो । विभिन्न आमा समूह र व्यक्तिले निर्माणाधीन क्षेत्रमै आएर रकम सहयोग गरे । संस्थागत हिसाबमा स्वदेश–विदेशदेखि रकम संकलन गरेर पठाउन थालेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण व्यवस्थापन समिति ऊर्जाशील बन्दै गयो । त्यसबीच धनधान्याचल महायज्ञ भयो । महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलकबोल भयो । उनीहरू झनै उत्साहित भए । परियोजनाको घोषणा हुँदै गर्दा पनि ५/६ करोड रकम घोषणा भएको थियो । राज्यको उपस्थितिमा परियोजना घोषणा भएपछि धुर्मुसको टिमलाई लागेको थियो, ‘सबै पक्षले हातेमालो गरेको खण्डमा तोकिएको समयमै रंगशाला निर्माण हुन्छ ।’

विभिन्न व्यक्ति र संस्थाले रकम दिने घोषणा गर्दै थिए । सरकारले पनि सहयोग गर्ला भन्ने आशामा काम गर्दै जाँदा करिब १६ करोड रुपैयाँ उधारो भएसँगै हाल धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाको काम रोकेको छ । अब त्यहाँ बनेका पूर्वाधार अलपत्र हुने पो हुन् कि भन्ने आशंका बढेको छ । कोरोना संक्रमणको महामारीले छोप्दा पनि नरोकिएको काम उधारोको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि रोक्नुपरेको कट्टेलले बताए । ‘१/२ करोड भएको भए ल है भन्न सकिन्थ्यो, १५/१६ करोडको हाराहारीमा उधारोमा काम भइसकेपछि त निर्माण सामग्री जुटाउनै कठिन भयो,’ उनले भने, ‘दाताहरूले आफ्नो गच्छेअनुसार सहयोग गरिरहनुभयो तर अहिले २/४ लाख खर्चेर २/४ पिलर अगाडि बढाइहालौं भन्ने अवस्था रहेन, अब त करोडौं रकम खर्चेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

आर्थिक अभावकै कारण रंगशालाको काम रोकिएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले सरकारलाई हारगुहार गरेका छन् । ‘नागरिकको अगुवाइमा ३५ प्रतिशत काम सकियो, अब यो अप्ठ्यारो परिस्थितिलाई सरकारले नहेरे कसले हेर्ने ? एकीकृत बस्ती विकासको अवधारणामा चारवटा बस्ती बन्यो । त्यो दायित्व पनि सरकारकै थियो । हामीले सरकारलाई सघाउन निजी क्षेत्रबाट ती काम गर्‍यौं,’ कट्टेलले भने, ‘अब रंगशालाको जग खन्नुपर्दैन, संरचना बन्न बाँकी हो । यसमा त जनताको पसिना छ । विदेशमा दुःख गर्ने नेपाली दाजुभाइ, दिदीबहिनीले पैसा पठाएर हामी यो अवस्थामा पुगेका छौं । हरेक बालुवा, गिट्टी, इँटामा उहाँहरूको योगदान छ । त्यसैले अब रंगशालामा राज्यको दायित्व रहन्छ । गर्नैपर्छ जस्तो लाग्छ ।’

आफूहरूले अर्थमन्त्री जनार्दन शर्मालाई प्रस्तावना बुझाइसकेको उनले बताए । राज्यले रंगशाला निर्माणको काम प्राथमिकतामा राखेर सहयोग गरेमा एक वर्षभित्र गौतम बुद्ध रंगशाला निर्माण गर्ने उनको दाबी छ । ‘हामी सरकारको निर्णय कुरिरहेका छौं, राज्यले नै बाँकी हिस्सा बेहोरिदियो भने दर्शकमा आह्वान गर्नॅ पर्दैन । कालान्तरमा त्यो सरकारकै सम्पत्ति हो । अहिलेलाई काम सुरु गर्न ५० करोड रुपैयाँ भयो भने संरचनाको काम सम्पन्न गर्न सक्थ्यौं भन्ने लाग्छ,’ उनले भने । -कान्तिपुर

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?