१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमसीसीबारे पूर्वप्रधानमन्त्रीको एकमत हुनुपर्छ : डा. शेखर कोइराला



विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा राष्ट्रिय सहमति बनाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले एमसीसीका बारेमा सहमति गर्न आवश्यक रहेको बताएका हुन् ।

‘राष्ट्रिय सहमति बनाउन सकिन्छ भने बनाऔं,’ उनले भने, ‘देशका प्रधानमन्त्रीहरु त एक ठाउँमा बस्नहोस्, सहमति गरेर अघि बढ्नुहोस् ।’

एमसीसी सम्झौता संविधानभन्दा माथि नहुने भन्दै नेता कोइरालाले यो कुरा जनतालाई बुझाउनुपर्ने बताए ।

‘संविधान माथि एमसीसीको कानुन लागु हुदैन होला, हामीले बुझाउन सक्नुपर्‍यो, नेताहरुले बुझाउनुपर्‍यो’ उनले भने,‘… पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री हुँदाखेरि एमसीसी पास गर्नुपर्छ भन्नुहुन्छ । एग्रिमेन्ट गराउनुहुन्छ, प्रधानमन्त्रीबाट निस्किएपछि गर्नुहुँदैन भन्नुहुन्छ । यस्तो कुराले नेपाललाई अप्ठेरो पर्छ ।’

अरुण तेस्रोमा विगतमा गल्ती भएको भन्दै उनले एमसीसीमा अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताए । नेता कोइरालाले एमसीसीका कारण गठबन्धन परिवर्तन हुनसक्ने सम्भावना पनि रहेको बताए ।

सरकार चलेको छ र ?

डा. कोइरालाले सरकार अलोकतान्त्रिक रुपमा अघि बढेको बताए । सरकार कसरी चलेको छ भन्ने पत्रकारको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘सरकार चलेको छ र ?

पाँच जनाको मन्त्रिपरिषदले सरकार चलाउन नसक्ने उनले बताए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेको भन्दै कोइरालाले अभिव्यक्ति स्वतन्त्रता बन्देज लगाउने गरी विज्ञप्ति जारी गर्नु सरकारको अलोकतान्त्रिक काम भएको बताए ।

‘यो सरकार पनि अलोकतात्रिक तरिकाले हिँड्दैछ त,’ उनले भने, ‘हाम्रै नेतृत्वको सरकार छ । तर हाम्रै नेतृत्वको सरकार भएपनि गलत कुरामा बोल्नैपर्ने हुन्छ । हामीलाई जननायक बीपी कोइरालाले त्यही कुरा सिकाउनुभएको छ ।’

नेता कोइरालाले नेपाली कांग्रेसको डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशनलाई स्वीकार्न नसक्ने बताए । उनले कांग्रेसको इतिहासमा पहिलो पटक प्रहरी प्रशासन लगाएर अधिवेशन गरिएको भन्दै आपत्ति जनाए । कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक ढंगले चलेको भन्दै उनले यसको समाधानका लागि नेतृत्व नै परिवर्तन गर्नुपर्ने बताए ।

कोइरालाले १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट साझा उम्मेदवार बनाएर अघि बढ्ने बताए ।


प्रतिक्रिया दिनुहोस !