जनकपुर- नेकपा माओवादी(केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताएका छन् । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि उनले दाबी गरे ।
पार्टीको प्रदेश २ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार जनकपुर आइपुगेका दाहालले गठबन्धनमा कुनैपनि प्रकारको असन्तुष्टि नरहेको बताए । ‘एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण हो,’ प्रशिक्षणपछि संवाददाताहरुसित कुरा गर्दै दाहालले भने,‘ सरकारले पूर्णता नपाएको विषयलाई बहाना बनाएर गठबन्धनमा गडबड रहेको भ्रम फैलाइयो । गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सिर्जना गरिरहेको छ ।’
उनले संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेकाले टुट्दैन भन्नेमा ढुक्क रहन आग्रह गरे । ‘गठबन्धनमा कुनै किसिमको विवाद छैन । यो गठबन्धन टुट्दैन,’ दाहालले भने ।
दाहालले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन संसद्बाट पारित गर्न नमिल्ने बताए । यसअघिका शेरबहादुर देउवा नेतृत्वकै सरकारको पालामा भएको एमसीसी सम्झौतामा प्रतिनिधिसभाबाट पारित गर्नुपर्ने प्रावधान नरहेको र ओली सरकारको पालामा अर्थमन्त्रीले संसद्बाट अनुमोदन गर्ने समझौता गरेपछि एमसीसीको विवाद चर्किएको उनले बताए ।
‘अमेरिकी संसद्मा एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि नेपालमा विवाद झन चर्कियो,’ दाहालले भने ।
‘प्राविधिक कारण’ले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै दाहालले असोज ४ गतेभित्रै गठबन्धनको सरकारले पूर्णता पाउने दाबी गरे ।