७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अखिलमा नयाँ नेतृत्व : अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल



काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् । पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् । अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !