१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला



उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी गर्वी गुरुङ जलेकी हुन्। सुतिरहेका बेला गोठमा आगलागी भएको उनको शरीरभरी घाउ नै घाउ छ तर उपचार पाएकी छैनन्।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आगलागीबाट १४ वटा बाख्रा जलेको थियो। आगलागीबाट खरले छाएको गोठ खरानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि जलेको स्थानीय गोपाल घलेले बताए।

गम्भीर घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दुर्घटनामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्यान गुमाउन बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !