८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्छ : मुख्यमन्त्री शाक्य



बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशभरका जनताका लागि पायक पर्ने गरी सङ्घीय राजधानी बनाउनुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति चितवनको पाँचौँ जिल्ला सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले मकवानपुर र चितवनलाई जोडेर सङ्घीय राजधानी र प्रदेशको राजधानी काठमाडौँ बनाउनुपर्ने बताउनुभएको हो ।

सङ्घीय राजधानी काठमाडौँ अव्यवस्थित बनेको भन्दै उहाँले यहाँका दुई जिल्ला जोडेर व्यवस्थित राजधानी बनाउन सकिनेमा जोड दिनुभयो । काठमाडौँ प्रदेशको राजधानी हुँदा यहाँका जिल्लालाई पायक पर्ने उहाँको भनाइ थियो । चितवनमा विकासको प्रचुर सम्भावना रहेको भन्दै उहाँले व्यवस्थित सहर बनाउन सुझाव दिनुभयो । मुख्यमन्त्री शाक्यले कोभिडको तेस्रो लहर आउन सक्ने भन्दै यसका विरुद्ध लड्नका लागि सरकारी संयन्त्र तयार रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री विजय सुवेदीले गुरुयोजना बनाएर जिल्लाको विकासमा जुट्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी आशमान तामाङलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विभिन्न आयोजनाको विवरण पेश गर्नुभयो । ती आयोजनाका विषयमा आजै जिल्ला सभाको बन्दसत्रमा छलफल हुनेछ ।

कार्यक्रममा जिल्ला समन्वय समितिले प्रकाशन गरेको ‘चितवन दर्पण’को मुख्यमन्त्री शाक्यले विमोचन गर्नुभयो । सो पुस्तक सामाजिक विकासमन्त्री सुवेदीको संयोजकत्वमा जिल्लाका विज्ञले तयार पार्नुभएको हो । जिल्लाको सबै क्षेत्र समेटिएको यस प्रकारको पुस्तक पहिलो भएको सुवेदीको दाबी छ । पुस्तकका लेखक, कोभिड अभियानमा जुट्ने स्वास्थ्यकर्मी र जिल्ला समन्वय समितिमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोही अवसरमा सम्मानित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !